बाबुराम र नारायणकाजीलाई अप्ठ्यारो पर्ने प्रतिवेदन ल्याउँदै प्रचण्ड
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१५ पुस, काठामाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका लागि प्रत्युत्पादक हुने गरी राजनीतिक प्रतिवेदन ल्याउन लागेका छन्। भट्टराईले पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व छान्ने र एउटा नेतृत्व दुई कार्यकालमात्र रहने प्रस्ताव अगाडि सारेपछि उनलाई नै अप्ठ्यारोमा पार्ने गरी दाहालले प्रतिवेदन तयार गर्न लागेका हुन्।
अध्यक्ष दाहाललाई निर्वाचनमा पराजयको जिम्मेवारी लिन लगाएर अप्ठ्यारो पार्न भट्टराई र श्रेष्ठले गतिविधि सञ्चालन गरेपछि आफू पक्षधर नेताहरूको सुझाउअनुसार दाहालले तल्ला समितिमै आन्तरिक प्रतिस्पर्धा गराउने विधिसहितको प्रस्ताव ल्याउन लागेको पार्टीका एक नेताले बताए।
समानुपातिक सभासद् छान्ने मापदण्ड अनुमोदन गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक विषयमा छलफल गर्न यही पुस २६ गते अर्को बैठक बोलाउने निर्णय गरेको छ। उक्त बैठकमा दाहालले प्रतिवेदन पेस गर्नेछन्।
आन्तरिक प्रतिस्पर्धा गराउँदा भट्टराई र श्रेष्ठ पक्षका नेताहरू थोरै निर्वाचित हुने र उनीहरू प्रस्तावको विपक्षमा उभिने दाहाल पक्षको विश्लेषण छ। ‘त्यसैले यो प्रस्ताव रणनीतिक कार्डका रूपमा देखिन्छ’, ती नेताले भने। सातौं महाधिवेशनअघि आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने योजना भए पनि भट्टराई र श्रेष्ठले ‘कोटा र आरक्षण’ खोजेपछि विफल भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
भट्टराईले रणनीतिक रूपमा प्रतिस्पर्धाबाट नेतृत्व छनोटको प्रस्ताव सार्वजनिक गरेपछि दाहालले यसलाई कार्यान्वयनमै लैजाने गरी आफूनिकट नेताहरूलाई प्रस्ताव ल्याउन निर्देशन दिएका छन्। सांगठनिक संरचनामा ७५ प्रतिशत निर्वाचित हुने र २५ प्रतिशत मनोनीत हुने व्यवस्थासहितको प्रस्ताव केन्द्रीय समितिमा आउँदैछ। यसलाई विशेष संगठनात्मक राष्ट्रिय सम्मेलनसम्म पु:याउने तयारी दाहाल पक्षको छ।
दाहाल निकट नेता जनार्दन शर्माले बैठकमा यस्तो प्रस्ताव ल्याउन नेतृत्व गरिरहेका छन्। शर्माले भने, ‘हामीले पहिले नै अगाडि सारेको प्रस्ताव अहिले बाबुरामजीले उठाएका हुन्।’ भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले भने, ‘कसैलाई हटाउने गरी आन्तरिक प्रतिस्पर्धाको प्रस्ताव आउन लागेको होइन। अहिले हाम्रो संगठनात्मक संरचना माथितिर फर्कने खालको छ। केही प्रतिशत मनोनीत गर्ने व्यवस्था राखेर कार्यकर्ता र जनताप्रति उत्तरदायी हुने गरी तलतिर फर्काउन छलफल चलिरहेको छ।’
केन्द्रीय सदस्य गंगा श्रेष्ठका अनुसार पार्टीका समिति काम लाग्ने देखिएनन्। उनले भने, ‘काम नलाग्ने समितिलाई प्रभावकारी बनाउन एउटा मापदण्ड त बनाउनैपर्ने भएको छ।’
पार्टी शान्तिप्रक्रियामा आएपछि प्रवेश गरेका नेताकार्यकर्ताका लागि आन्तरिक प्रतिस्पर्धा चुनौतीपूर्ण हुनेछ। ‘पार्टीमा व्यापक शुद्धीकरण गर्नुपर्छ। त्यसका लागि आन्तरिक प्रतिस्पर्धामा जानुपर्छ’, प्रवक्ता अग्नि सापकोटाले भने, ‘पार्टी समावेशी बनाउन केही प्रतिशत केन्द्रीय समितिबाट मनोनयन पनि गर्नुपर्ने हुन्छ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses