Entertainment
»
चुनावमा चर्चा उद्धवको, रमेशजंग भन्छन्, ‘ छोरीको बिहे भए पो आउँछन् कलाकार ‘
चुनावमा चर्चा उद्धवको, रमेशजंग भन्छन्, ‘ छोरीको बिहे भए पो आउँछन् कलाकार ‘
काठमाडौंको गोपीकृष्ण सिनेमा हलका मालिक उद्धव पौडेललाई पनि यतिबेला अन्य नेताहरुलाई जस्तै गज्जपले चुनाव लागेको छ । काठमाडौं ४ मा राप्रपा नेपालका तर्फबाट प्रत्यक्ष उम्मेद्वार बनेका पौडेल गगन थापा, नन्दकिशोर पुन पासाङ र निर्मल कुइँकेलका प्रतिस्पर्धी बनेका पौडेलले चुनाव जित्न गाह्रो भए पनि फिल्म निर्माता र कलाकारहरुलाई भने नत्थी लगाएर आफ्नो पक्षमा प्रचार गर्न लगाएको गुनासो आउन थालेको छ ।
एकजना चलचित्र निर्माताले त पौडेलले ब्ल्याकमेलिङ गरेर कलाकारलाई आफ्नो पक्षमा हिँडाएको आरोप लगाएका छन् । उम्मेद्वार पौडेलले सञ्चालन गरेको गोपीकृष्ण टीभी पौडेलको चुनाव प्रचारमा सीमित देखिएको र प्रचार आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परिसकेको छ ।
आफ्नै बारीको खेतीजस्तो गरेर गोपीकृष्ण टीभीले उद्धवको मात्रै एकोहोरो समाचार प्रशारण गरेको भन्दै निर्वाचन आयोगले प्रशारण भएका निर्वाचनसम्बन्धी सामाग्री कार्यालयमा लिएर आउन आदेश दिएको छ ।
गोपीकृष्ण टीभी विरुद्ध कारवाही प्रक्रिया अघि बढिरहेको समयमा काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार पौडेललाई चुनावमा उठेका अन्य सिने कलाकारको दाँजोमा बढी नै कलाकर्मीहरुले भोट माग्न सघाएको देखिएको छ ।
राप्रपा नेपालबाटै काठमाण्डौमा उम्मेदवार बनेका गायक संजय श्रेष्ठ र गायिका मिरा राणाको चर्चा भने खासै देखिएको छैन । उद्धवको आफ्नै मिडिया हाउस र कलाकारसँगको व्यापारिक साइनोले पनि उनको बढी चर्चा भएको स्पष्ट छ । तर, पौडेलको चर्चा चुलिँदा अन्य उम्मेदवार कलाकर्मी भने ओझेलमा पर्न थालेका छन् ।
मोरङ क्षेत्र नम्बर ८ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेशजंग रायमाझी पनि खासै चर्चामा आउन सकेका छैनन् । उनले छोरीको बिहे भए पो कलाकारलाई निमन्त्रणा गर्ने भन्दै मन भएकाहरु आफै आउने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने-’आउनेलाई स्वागत छ, नआउनेलाई मेरो केही पनि भन्नु छैन ।’
भुवन केसी त केपी ओलीको कार्यक्रममै गएर नाचे, तपाईलाई कलाकारको साथ किन भएन भन्ने प्रश्नमा रायमाझीले एमाले भित्रैबाट विरोध भएर टिकट नपाउने अनि त्यही पार्टीका लागि नाच्ने भुवन केसीका बारेमा टिप्पणी नगर्ने बताए ।
पौडेलले ब्ल्याकमेलिङ गरेको आरोप
उद्धव पौडेलको चुनावी चर्चा र कलाकारले दिएको साथको बारेमा सोधिएको प्रश्नमा रायमाझीले भने- ‘पौडेलले कलाकारलाई ब्ल्याकमेल गरेर बोलाइरहेका छन् । भोलि टीभीमा स्थान नदिने र हलमा सिनेमा चलाउन नदिने भन्दै उनले ब्ल्याकमेल गरिरहेका छन् ।’
रमेशले मोरङ ८ बाट आफूले जित्ने निश्चित भएको दाबी समेत गरेका छन् । नेपाली कला क्षेत्रबाट संविधान सभाको चुनावमा होमिएका कलाकर्मीमध्ये उद्धवको चर्चा देखिए पनि अन्य कलाकार भने ओझेलमा देखिएका छन् ।
0 comments
Write Down Your Responses