अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७१ पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, वैशाख ३ (नागरिक) - जिल्ला विकास समिति धनुषाका १६ जना कर्मचारी र २५ आयोजना उपभोक्ता समितिका ७१ जना पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सडक निर्माण तथा अन्य पूर्वाधार बनाउँदा बदनियतपूर्ण रुपमा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको दाबी गर्दै विशेष अदालतमा ३० चैतमा मुद्दा दायर गरेको अख्तियारले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएको छ। उनीहरुले १ करोड १३ लाख रुपैयाँ सरकारी रकम हिनामिना गरेको दाबी गरिएको छ।

जिल्ला विकास समिति धनुषाले आर्थिक वर्ष २०६८/०६९ मा सडक निर्माण, मर्मत र अन्य पूर्वाधार बनाउन निकासा भएको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।

विभिन्न योजनामा निर्धारितभन्दा कम गुणस्तरको काम गराएको, मापदण्डविपरीत सञ्चालन गरेको, काम नै नगराई झुठो बिल भर्पाइ तयार गरेर भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जानकारी दिएको छ।

बल्हा बोर्डरदेखि डुमरिया चोकसम्म जिविसद्वारा सञ्चालित विभिन्न २५ आयोजनामा भएका अनियतितामा निमित्त स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतो, जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख विनोदकुमार ठाकुर, देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर मनरइत, जिविसका लेखा अधिकृत मदनमोहनलाल कर्ण, लेखापाल जीवनाथ चौधरीलगायत १६ कर्मचारी संलग्न देखिएको अख्तियारले जनाएको छ।

२५ वटा आयोजना उपभोक्ता समितिका ७१ पदाधिकारीले जिविसले निर्धारण गरेको कार्यविधि तथा सम्झौता सर्तहरु पालना नगरी सरकारी सम्पत्ति नोक्सान गरी व्यक्तिगत लाभ लिएको दाबी गर्दै अख्तियारले उनीहरुविरुद्धसमेत मुद्दा दर्ता गराएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses