जानकी मेडिकल कलेजका सहयोगीमाथि गोली प्रहार, स्थिति गम्भीर

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सुरेश यादव, जनकपुर, वैशाख ३- जानकी मेडिकल कलेजका संस्थापक निर्देशक अशोक सिन्हाका निजी सहयोगी उपेन्द्र ओझामाथि गोली प्रहार भएको छ। जनकपुर-४ स्थित सिन्हा निवासमै रहेका उपेन्द्रलाई दिउसो २:१५ बजे मोटरसाइकलमा आएका एक व्यक्तिले गोली प्रहार गरेका हुन्। छातीमा गोली लागेका उनको अवस्था गम्भीर रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ।

४५ वर्षे ओझा महोत्तरी इटर्हवा ८ का स्थायी निवासी हुन्।

मंगलबार दिउँसो सिन्हा निवासमा बाइकमा आएका अज्ञात व्यक्तिले पालेलाई बोलाएपछि ओझा बाहिर निस्केका थिए। सोही समयमा उनीमाथि गोली प्रहार गरी अपराधीहरु मोटरसाइकलमा भागेका थिए। गोली प्रहार हुँदाको समयमा सिन्हा भने घरमा थिएनन्।

जनकपुरदेखि १२ किलोमिटर उत्तरमा रहेको जानकी मेडिकल कलेज सिन्हासँग चन्दा माग गर्दै २ हप्ता अघि मेडिकल कलेजको छात्रास तथा बसमा बम राखेको थियो। त्यसयता तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले कलेजका संस्थापक, विद्यार्थी तथा कर्मचारीलाई आक्रमण गर्ने धम्की दिँदै आएको थियो। मंगलबार ओझामाथिको आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

छातीमा गोली लागेका उनको हाल जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। गोली छातीभित्रै रहेकाले अवस्था गम्भीर रहेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट बलराम मिश्रले बताए। सिन्हा परिवार स्रोतका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।

Source:nagariknews.com

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses