शिक्षकले विद्यार्थीलाई मोबाइल बजाएर पढाउँछन् अंग्रेजी
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
गोविन्द केसी, दैलेख, चैत १९ - जिल्लाका ५ सय १३ प्राथमिक विद्यालयका ५ सय २५ अंग्रेजी शिक्षकले पाठ्यसामाग्रीका रुपमा मोबाइल फोन प्रयोग गर्छन। कक्षा १ देखि ५ सम्म अंग्रेजी विषयको पाठ अडियोमा राखेर पढाइन्छ। शिक्षकले विद्यार्थीलाई मोबाइल बजाएर पाठ सुनाउँछन्।

शिक्षकहरुको अंग्रेजी उच्चारण राम्रो नभएकाले मोबाइलबाट अडियो शिक्षण शुरुवात गरिएको रातो बङ्गला दैलेख स्कूल परियोजनाले जनाएको छ। छ महिना भयो यसरी पढाउन थालेको। मोबाइल प्रयोगले विद्यार्थीको रुचि बढेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
मोबाइलसंगै दिइएको मेमोरीमा रमाइला तथा पाठ्यक्रम समावेस गरिएको छ। बिशेषतः गीतमार्फत सिकाइन्छ। मेमोरी कार्डमा रेकर्ड गरिएका पाठ्यपुस्तक विद्यालयलाई परियोजनाले उपलब्ध गराएको छ। अडिओलाई सघाउन ९ वटा चार्ट समेत दिइएको र पाँच वटा स्मरण शक्ति वढाउने अंग्रेजी विषयका पाठ योजना तयार पारेर दिएपछि पढाई राम्रो हुँदै गएको परियोजनाका संयोजक मिनबहादुर शाहीले बताए।
जेठ ०६९ देखि मोवाइल फोन प्रयोग भएको हो। सरस्वती प्रावि, भाड्ेद्धारीका शिक्षक मोहनकुमार थापा भन्छन् 'यसको प्रभाव राम्रो छ।'
शिक्षक संख्या कम भएका बेला श्रवण सामाग्री बजाएर अर्काे कक्षामा पढाउन सकिने भानु उमावि प्रार्चाय चित्रबहादुर थापाले बताए। सोलारबाट समेत मोबाइल चार्ज गर्न सकिन्छ। 'विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई समेत मोवाइल सिकाइ भएको छ', परियोजनाका कर्ण शाहीले भने।
सवै प्राविमा मोवाइलबाटै शिक्षण सामाग्री सुनाइन्छ। नेपाल राष्ट्रिय निमाविका शिक्षक शसी विक भन्छन्, 'पहिला-पहिला झन्झट लाग्थ्यो, अहिले सवैलाई सजिलो भएको छ ।'
मोवाइल फोन प्रयोग गरेर पढाउन थालेपछि विद्यार्थीले पढाइमा रुचि देखाएको चौराठा १ का अभिभावक डिलबहादुर रानाले वताए। अडियो शिक्षण नमूनाका रुपमा प्रयोग भइरहेको संयोजक शाहीले बताए। शिक्षकलाई मोबाइल शिक्षणबारे ३ दिन तालिम दिइएको र अन्य शैक्षिक सामाग्री प्रदान गरिएको परियोजनाले जनाएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses