मलेसियाको अस्पतालको गल्तीका कारण काट्नुपर्ने कामदारको हात पाटन अस्पतालका चिकित्सकले जोगाए

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मलेसियाको एउटा अस्पतालको गल्तीका कारण काट्नुपर्ने अवस्थामा पुगेको नेपाली कामदारको हात पाटन अस्पतालका चिकित्सकले जोगाएका छन् । कुहिनामा लागेको चोटको सही उपचार नगरिदा हातै काटुनुपर्ने अवस्थामा पुगेका ओखलढुंगाका एक युवकको हात पाटनको हाडजोर्नी विभागका प्रमुख डा.नविसमान सिंह प्रधानको पहलमा जोगिएको हो ।



मलेसियामा लडेर कुहिनो ठोकिएका युवकलाई त्यहाँको अस्पतालका डाक्टरले विना एक्सरे भाँच्चिएको भन्दै प्लास्टर गरिदिएका थिए । तर, दुई महिनामा हात सुन्निएर प्लास्टर खसेपछि उनी सोही अस्पताल पुग्दा डाक्टरले हात काट्नुपर्ने बताएका थिए । त्यसपछि उनी नेपाल फर्किए । ‘के भयो भन्दै त्यही अस्पतालमा पुग्दा त डाक्टरले हातै काट्नुपर्छ भने ।’ उनले भने, ‘त्यसपछि म तुरुन्तै जे होला भनेर नेपाल फर्किएँ ।’

नेपालमा पनि धेरै अस्पताल घुमेर हाडजोर्नी विशेषज्ञलाई भेट्दा अधिकांशले हात काट्नु नै उपयुक्त विकल्प भएको सुझाव दिएको उनले बताए । विभिन्न परीक्षण गराउने क्रममा उनको कुहिनोमा जाइन्ट सेल ट्युमर (क्यान्सर) भइसकेको पत्ता लाग्यो । ‘

‘ट्युमरले जोर्नी खाइसकेको रहेछ ।’ उनले भने, ‘के गर्ने के नगर्ने भयो, कतै उपाय लाग्छ की भनेर भौतारिइरहेको समयमा एकजना आफन्तको सल्लाहमा प्रधान डाक्टर साबलाई देखाएँ ।’ उनले भावुक हुँदै भने, ‘उहाँलाई भेटेपछि धेरै आशा पलायो, पछि धेरै सहयोग पनि पाएँ र मजस्तो मजदुरको हात जोगियो ।’

डा.प्रधानले भारतबाट धातुको जोर्नी (मेगा प्रोस्थेसिस) झिकाएर गत सेप्टेम्बर ६ मा सफल शल्यक्रिया गरेका थिए । नेपालमा हातमा धातुको जोर्नी प्रत्यारोपण गरिएको पहिलोपटक हो । यस्तो शल्यक्रियामा हातका प्रमुख स्नायु अल्नर र रेडियललाई सुक्ष्म चोटबाट बचाउनु निकै चुनौतीपूर्ण हुन्छ । यी प्रणालीमा चोट लागेमा वा संक्रमण भएमा हातै नचल्ने जोखिम हुन सक्छ । डा.प्रधानका अनुसार यस्तो अवस्थामा चिकित्साशास्त्रमा दुई विकल्प हुन्छन् । धेरैजसो अवस्थामा हात काटेरै फालिन्छ । आर्थिक आधारमा पनि सस्तो हुने भएकाले चिकित्सकहरुले यो विकल्प सुझाउँछन् ।

अर्को विकल्पमा कृत्रिम जोर्नी प्रत्यारोपण गर्न सकिन्छ जसका लागि भारत जानुको विकल्प हुन्थेन । तर डा.प्रधानले भारतबाट कृत्रिम जोर्नी मगाएर नेपालमै प्रत्यारोपण गर्न सकिने तर त्यसका लागि केही समय कुर्नपर्ने सल्लाह दिएका थिए । ‘नफैलने क्यान्सर भएकाले कुर्न पनि अप्ठेरो थिएन ।’ डा.प्रधानले भने । शल्यक्रिया करिब चार घण्टा लगाएर गरिएको थियो । शल्यक्रियामा डा.प्रधानलाई डा.सौरभ चित्रकार र डा.उत्सव श्रेष्ठको टिमले सघाएको थियो चिकित्सकहरुका अनुसार जोर्नीका तन्तुमा हुने यस्तो क्यान्सरको यकीन कारण पत्ता नलागेपनि धेरैजसो ‘केमिकल एक्स्पोजर’ का कारणले हुन्छ । यस्तो क्यान्सरले हड्डी नै खाइदिन्छ, र अंग काटेर फाल्नुपर्छ ।

शरीरमा जोर्नीको ट्युमर घुँडा, कुहिना र नाडीमा बढी हुन्छ । अति संवेदनशील मानिने यस्ता तन्तुमा सानो चोट लागेमा पनि क्यान्सरसम्मको जोखिम हुन सक्छ । अतः यस्ता तन्तुमा हुने दुःखाईको समयमै संबन्धित चिकित्सककहाँ गएर उपचार गर्न डा. प्रधानको सुझाव छ । यो शल्यक्रियासँगै नेपालमा नयाँ उपचार प्रविधि सुरु भएको चिकित्सकहरुले बताएका छन् । यस्तो शल्यक्रियाका लागि भारतमा ५ देखि ७ लाख खर्च लाग्ने गरेकोमा नेपालमा सामान मगाएर गर्दा करिव डेढ लाखमै शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

को हुन् डा.प्रधान ?


चीनको पेकिङ युनिभर्सिटीबाट सन् १९९९ मा एमबिबिएस र २००२ मा एमडी गरेका डा.नविसमान सिंह प्रधान नेपालका नामी हाडजोर्नी शल्यचिकित्सकमा पर्छन् । ११ वर्षदेखि पाटन अस्पतालमा हाडजोर्नी विभागमा कार्यरत उनले हाडजोर्नीसम्बन्धी जटिल मानिने धेरै प्रकारका शल्यक्रिया गरिसकेका छन् । सन् २४ सेप्टेम्बर १९७३ मा काठमाडौंमा जन्मिएका उनी चार महिनादेखि अस्पतालमा विभागीय प्रमुखको रुपमा समेत कार्यरत छन् । नेपाल हाडजोर्नीसम्बन्धी शल्यक्रियाको राम्रो व्यवस्था नभएकाले त्यसको विकास गर्ने उनको चाहना छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses