सम्बन्ध बिच्छेद गर्न लौरो टेक्दै अदालत

भिडियो हेर्न तल क्लिक गर्नुहोस

हेटौडा, साउन १३ – श्रीमानको पिटाइले हैरान भएकी ७० वर्षकी एक वृद्धा (नाम सार्वजनिक नगरिएको) ले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा निवेदन दिइन् ।
२०६९ फागुन २२ गते लौरो टेक्दै मकवानपुर जिल्ला अदालत पुगेकी उनले श्रीमानबाट माना चामल बापत मासिक ४ हजार रुपैयाँ पनि भराईदिन माग गरेकी छिन् ।
क्यान्सर र ब्लड प्रेसरबाट पीडित उनलाई जाँडरक्सी खाने श्रीमानको पिटाइले झन् पीडा दिएपछि सहन नसकेर अदालत आएको बताएकी थिइन् । दुई छोरा र तीनवटी छोरी र नातिनातिना भएकी बृद्धाको यो मुद्दा फैसलाकै प्रक्रियामा रहेको अदालतका श्रेष्तेदार कोसलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
हेटौडा ६ चौघडाकी १९ बर्षकी युवती (नाम सार्वजनिक नगरिएको) ले १७ बर्षकै उमेरमा प्रेम बिवाह गरेकी थिइन् । दुबै जनाले बाँचे संगै बाँच्ने र मरे संगै मर्ने कसम खाएका थिए । बा आमालाई थाहै नदिइकन बिवाह गरेकाले माइतीले उनलाई वास्ता गर्दैनथ्यो । श्रीमानले धेरै माया गर्ने भएकाले उनलाई माइतीको अवहेलनाको पर्बाह पनि थिएन ।
बिवाह गरेको २/३ महिनापछि नै उनलाई श्रीमानले कुटपीट गर्न थाले । दिनरात रक्सी खाएर शारीरिक तथा मानसिक यातना दिने श्रीमानले अब दिल्ली लैजान्छु भनेपछि झस्किएर उनी सम्बन्ध बिच्छेद गर्न अदालत पुगिन् ।
२०६७ साल बैशाख १३ गते बिवाह बन्धनमा बाँधिएकी उनले त्यसको दुईबर्षपछि २०६९ साल जेठ २० गते श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर छुट्टै बस्न थालेकी छिन् ।
त्यस्तै हेटौडा ४ बस्ने २२ वर्षकी युवती (नाम सार्वजनिक नगरिएको) को काखमा एक छोरा छन् । तीन बर्षअघि बिवाह गरेकी उनको श्रीमानसंगको सम्बन्ध एक वर्षसम्म राम्रै भयो ।
तर पछि श्रीमानले शारीरीक र मानसिक यातना दिएपछि गएको असार १७ गते उनी पनि मकवानपुर जिल्ला अदालत पुगिन् । उनले श्रीमानबाट अंश नलिने तर छोरा भने आफूसंगै रहने भन्दै अदालतमा दिएको निबेदनमा फैसला भने हुन बाँकी नै छ ।
यी त केही उदाहरणमात्र हुन् । पछिल्लो समय धेरै महिलाहरु श्रीमान र घरपरिवारका सदस्यले दिने शारीरिक र मानसिक यातनाका कारण सम्बन्ध बिच्छेद गर्न अदालतसम्म पुग्न थालेका छन् ।
धेरैजसो सम्बन्ध बिच्छेदका निवेदनहरु यातनाकै कारण आएको अदालतका श्रेस्तेदार ज्ञवालीले बताउनुभयो । आर्थिक वर्ष २०६९/७० मा जिल्ला अदालतमा एक सय ३५ जनाले सम्बन्ध बिच्छेद गरी पाउँ भनेर निबेदन दिएका थिए । जसमध्ये एक सय ७ जनाको निबेदनमा फैसला भइसकेको छ । अब २८ वटा निबेदनमा मात्र फैसला हुन बाँकी छ ।

सम्बन्ध विच्छेदका लागि निवेदन दिनेमा महिला बढी

अदालतमा धेरैजसो महिलाहरु नै सम्बन्ध बिच्छेदका लागि निवेदन लिएर आएका छन् ।  गएको आर्थिक बर्षमा दुई जना पुरुषले मात्र सम्बन्ध बिच्छेदका लागि निवेदन दिएका छन् ।
सम्बन्ध बिच्छेदका लागि १८ देखि २५ बर्ष उमेरका महिलाको निवेदन धेरै आएको अदालतले जनाएको छ । श्रीमानको अंश नलिइकन सम्बन्ध बिच्छेद गरेका केही महिलाहरुले अन्यत्र समेत बिवाह गरेको पाइएको छ ।
कसैले भने भने एकजनासँग सम्बन्ध बिच्छेद गरेर अंश लिई फेरि अर्को बिबाह गर्ने अनि फेरि सम्बन्ध बिच्देद गरेर अंश लिने काम चार पटकसम्म गरेको पाइएको अदालतको भनाई छ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses