भ्रष्टाचार प्रमाणित गर्नसके जेल हाले हुन्छ– डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

भिडियो हेर्न तल क्लिक गर्नुहोस

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, उहाँको सरकारको उपलब्धि र असफलता लगायतका विषयमा गरेको कुराकानीको सम्पादित अंश :



० संविधानसभाको निर्वाचन हुनेमा तपाइँ कत्तिको विश्वस्त हुनु हुन्छ?
– चुनाव गर्नै पर्छ। यसको विकल्पै छैन। त्यसको लागि मैले सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेको हुँ।
० निर्वाचन नहुने देखेर नै तपाइँले प्रधानन्यायाधीशलाई सत्ता हस्तान्तरण गरेको भनिन्छ नि?
– चुनावमा आउन केही शक्तिहरूले आनाकानी गरे र राष्ट्रपतिले अध्यादेशहरू रोकेर चुनाव नहुने वातावरण बनाइ दिनुभयो। त्यो स्थितिमा म निर्वाचित प्रधानमन्त्रीलाई चुनाव गराउन नदिइसकेपछि लोकतन्त्रमा अपवाद जन्य विकल्पको रुपमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु हो। यो मात्रै विकल्प देखेर सरकार बनाएका हौं।
० लोकतन्त्रमा विश्वास गर्नेले अलोकतान्त्रिक सरकार निर्माणमा हस्ताक्षर गर्नु भयो नि?
– निर्वाचित प्रधानमन्त्रीलाई निर्वाचन गर्न नदिने जुन किसिमको वातावरण बनाइयो। तिनीहरूलाई नै सोध्नुस लोकतन्त्रको हत्या कसले गर्‍यो भनेर। बाबुराम भट्टराईले त संविधानसभा बचाउनको निम्ति अन्तिमसम्म प्रयत्न गर्‍यो। गत जेठ ५ गते म्याद थप्नको निम्ति मन्त्रिपरिषद्बाट संविधान संशोधन विधेयक ल्यायो। त्यसको नेपाली कांग्रेसका सभापतिले विरोध गरे र सोही पार्टीका कानूनमन्त्री कृष्णप्रसाद सिटौलालाई फिर्ता बोलाइयो। अन्त्यमा मैले आपतकाल लगाएर भए पनि म्याद थप्ने कोशिश गरे। राष्ट्रपतिजीले इन्कार गरिदिनु भयो। शेरबहादुर देउवा बाहेक कसैले पनि साथ दिएनन्। त्यसले गर्दा संविधानसभाको स्वतह अवसान भयो।
० संविधानसभा अवसान हुनुमा तपाइको दोष कत्तिको छ?
– मेरो दोष कत्ति छ भने मैले बेलैमा नेपालमा राजनीतिको नाउमा असाध्यै षड्यन्त्र जालझेल चल्छ। यहाँ मुल्य मान्यताको राजनीति छैन भन्ने कुरा बेलैमा नबुझ्नु र अन्तिम बेलासम्म आशावान भएर बस्नु मेरो कमजोरी हो।
० तपाइंँकै कारणले संविधानसभाको निर्वाचन हुन नसकेको त मान्नु हुन्छ नि?
– मैले पछिसम्म पर्खेर बस्नु मेरो कमजोरी रह्यो। मेरो कारणले त संविधान नै बन्थ्यो। मंसिर ७ को लागि मैले निर्वाचनको मिति घोषणा गरे। त्यसको लागि ऐन चाहिन्थ्यो। मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष अध्यादेश पठायो तर राष्ट्रपतिले जारी नगरी थन्क्याएर राख्नुभयो।
० तपाइँ त असफल हुनु भयो नि?
– मैले चुनाव गर्न नसकेको कि अध्यादेश जारी नगरी चुनाव गर्न नदिएको? यो कुरालाई राम्ररी बुझ्न सक्नु पर्छ।
० कांग्रेस एमालेलाई मिलाउन सक्नु भएन, राष्ट्रपतिलाई कन्भिन्स गर्न सक्नु भएन?
– मैले सकिन कि एउटा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने प्रयास गरियो? एउटा वैधानिक सरकारले पठाएको अध्यादेश पारित नगरेर निर्वाचन नहुने वातावरण बनाइयो। त्यसको तपाइँ नै छानविन गर्नुस्। नेपाली जनताले के बुझेका छन भने २००७ सालबाट सुरु भएको संविधानसभाको एजेन्डा महेन्द्रले खाए। त्यसपछि त्यो एजेन्डा २०४६ सालको निर्वाचनमा बाबुराम भट्टराईले उठाएको थियो।
० माओवादीको संविधानसभाको एजेन्डा त असफल भयो होइन?
– असफल भएको छैन। एकपटक एउटा बच्चा मर्‍यो भने बयस्क दम्पत्तिले अर्को प्रयत्न गरेर बच्चा जन्माउँछन्। तर जो बृद्ध भइसकेका हुन्छन्, जसको प्रजनन शक्ति गुमिसकेको हुन्छ उनीहरूले कहिल्यै पनि बच्चा जन्माउनै सक्दैनन्। नेपालमा यस्ता पनि राजनीतिक शक्ति छ, जसको बन्ध्याकरण भइसकेको छ। उनीहरूले संविधानसभालाई जन्माउन सम्भव छैन। तर माओवादीले जन्माउन सक्छन र हुर्काउन पनि सक्छ।
० तर माओवादी प्रतिको विश्वसनीयता पनि केही गर्न सकेन भनेर घटेको छ नि?
– हामीसँग पूर्णसत्ता थिएन। गठबन्धन सरकार चलाउनु पर्दाका बाध्यताहरू थिए। ऐन कानूनहरू पुरानै थिए। र विभिन्न शक्ति केन्द्रहरू यो प्रक्रियाको विरोधमै थिए। ० तपाइँले प्रधानमन्त्री हुँदा सत्ताको साँचो अन्त्य रैछ भन्नुभएको थियो? – मैले त्यस्तो कहिल्यै पनि भनिन। मैले मिडियाका साथीहरूलाई भन्नुपर्ने छ। कैयौँ कुरा आविस्कार गर्ने र दुष््प्रचार गर्दै भ्रम छर्ने यो गलत प्रवृत्ति हो। मैले नेपालको साँचो बाहिर छ कहिल्यै भनिन। नेपालको साँचो नेपाली जनताको हातमै छ। ० तर नेपालका नेताहरू अन्त्यबाटै सञ्चालिन छ भनिन्छ? – माओवादी शक्तिले त्यो घटनालाई बदलेको अवस्थालाई तपाइँले बिर्सिनु हुँदैन। सुगौली सन्धीदेखि यता हामी पराधिन भएकै हौ। बाह्य शक्तिको चलखेल बढेकै हो। हामी देश कमजोर भइसकेपछि छिमेकीले त्यसमा हात छिराउने प्रयत्न त गरि हाल्छ नि। त्यो स्वभाविक कुरा हो। ० खिलराज रेग्मीलाई आफैं निर्णय गरेर प्रधानमन्त्री बनाएको कि बाहिरी शक्तिको पनि हात थियो? – निर्वाचित सरकार भएकोले कि त मेरै नेतृत्वमा चुनाव हुनु पर्दथ्यो त्यो हुन नदिइसकेपछि अर्को विकल्प, बंगलादेश ग्रीस लगायतका देशमा प्रयोग गरिएको मोडल भनेको प्रधानन्यायाधीशको नेतृत्वमा सरकार हो। हामीले पनि त्यो नयाँ मोडलमा जाने प्रयत्न गर्‍र्यौं। यो हाम्रो उपज हो तर यसमा बाहिरी शक्तिको सहयोग र समर्थन हो। ० वैद्यले त भारतीय योजना अनुसार निर्णय भएको आरोप लगाएका छन? – म उहाँहरूको विषयमा टिप्पणी गर्न चाहन्न। इतिहासले नै त्यसको फैसला गर्छ। किनकी उहाँहरू वैचारिक राजनीतिक मतभिन्नताहरू राखेर हामीबाट अलग हुनुभएको छ। उहाँहरूको परीक्षण हुन बाँकी छ। तर उहाँहरूको बाटो वस्तु संगत छैन। त्यो बाटो सफल हुने सम्भावना म देख्दिन। ० वैद्य समूहले भाग नलिए संविधानसभाको निर्वाचन होला? – उहाँहरू अहिले दुविधामा हुनुहुन्छ। चुनाव हुने बेला सम्ममा उहाँहरूले पुनर्विचार गर्नुहुन्छ जस्तो मलाई लाग्छ। तर भाग लिनु भएन भने पनि चुनाव हुन्छ। अहिले उहाँले अगाडि सारे जस्तो माग पूरा हुन सक्दैन। खिलराज रेग्मी नेतृत्वको सरकारको विकल्प छैन। छिट्टै निर्वाचनको मिति तोक्नुपर्छ। चुनाव हुन्छ। पहिला एमाले कांग्रेस बाहिर थिए र चुनाव भएन। अहिले हामी प्रमुख दल एक ठाउँमा छौं त्यसैले पनि निर्वाचन हुन्छ। मोहन वैद्य नेतृत्वको दलमात्रै चुनावमा जाने कि नजाने भन्नेमा छन् बाँकी उहाँहरूको गठबन्धनमा रहेका ३३ दल चुनावकै पक्षमा छन। उपेन्द्र यादव, शरद सिह र अशोक राईले चुनावमा जाने निर्णय गरिसक्नुभएको छ। ० नेपालीले मात्रै चाहेर नेपालमा संविधानसभाको निर्वाचन हुन्छ र? – चुनाव नगरे यसको विकल्प के छ तपाइँ आफैं भन्नुस् न। नेपालमा लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धाको विकल्प छैन। नेपालमा छिटो लोकतान्त्रिक प्रक्रिया संस्थागत गरेर निर्वाचन गर्नु आवश्यक छ। हाम्रा छिमेकीले पनि लोकतन्त्र, स्थायीत्व, शान्ति र विकास चाहन्छन्। ० तपाइँ र राष्ट्रपतिबीचको द्वन्द्व कहिलेदेखि सुरु भयो? – राष्ट्रपति व्यक्तिसँग मेरो कुनै द्वन्द्व छैन। रामवरण यादवजीसँग मेरो राम्रो सम्बन्ध छ। ० अहिले कस्तो सम्बन्ध छ? – अहिले त मैले राष्ट्रपतिसँग कुनै खाले सम्बन्ध राख्नुपर्ने आवश्यकता छैन। तर बेला बखतमा केही शक्तिहरूले राष्ट्रपतिलाई उपयोग गर्ने प्रयत्न गर्छन् उहाँ अलि बहकिन खोज्नुहुन्छ। त्यसबाट उहाँ सतर्क रहनुपर्छ। त्यसो हुनसक्यो भने सरल तरिकाले राजनीति अघि बढ्छ। ० तपाइँलाई राष्ट्रपतिले धेरै पटक हटाउन खोजेकै हो त? – उहाँले मलाई हटाउन खोजेको कुरा त सबैले बुझेकै कुरा हो। मैले बाहिर आए जस्तो कु शब्दको प्रयोग त गरेको छैन। तर उहाँले निकै कठिन बाधा अड्चन सृजना गरेर मेरो सरकारलाई असफल पार्ने काम चाँही गर्नुभएकै हो। अहिलेको अन्तरिम संविधानले उहाँलाई मन्त्रिपरिषद्ले पठाएको अध्यादेश रोकेर राख्ने अधिकार कतै पनि दिएको छैन। संविधानको संरक्षक भनेको संविधानविपरीत जाने होइन। संविधान पालना गरेर संरक्षण हुन्छ उल्लघन गरेर हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। ० तपाइँलाई असफल बनाउनेमा राष्ट्रपतिको हात छ? – राष्ट्रपति प्रयोग हुनु भएको हो। उहाँले आफ्नै विवेकले कत्ति काम गर्नुभयो त्यो मलाई थाहा छैन। जो शक्ति परिवर्तन चाहँदैन थिए, परिवर्तनको सम्बाहक माओवादी अघि बढेको हेर्न चाहँदैन थियो। तिनीहरूको हातबाट राष्ट्रपति परिचालित हुनुभयो। ० तपाइँ काम केही नगरी सत्ताबाट बाहिरिनु भयो नि? – त्यस्तो लाग्छ तपाइँलाई? बाबुराम भट्टराईले दुईवटा सेना रहेको अवस्थालाई एउटै सेनामा रुपान्तरण गरेर शान्तिप्रक्रिया टुङ्ग्यायो। यो चानचुने काम हो। काठमाडौंको सडक विस्तारको कामलाई अघि बढाएँ। तर मैले बजेट पेश गर्न पाइन। पुरानै बजेट भित्र रहेर मैले ३० वर्षदेखि विस्तार हुन नसकेको काठमाडौंको सडक विस्तार गरे। त्यो नेपाली जनताले लामो समयसम्म सम्झिन्छन्। पश्चिम–सेती सहितका ठूला परियोजनाहरू मैले मेरै कार्यकालमा सुरु गरेको छु। वर्षौदेखि नेपाल वायु सेवा निगमकालागि किन्न नसकेका जहाजहरू मेरै प्रक्रियामा किन्ने प्रक्रिया सुरु गरें। ० तर भ्रष्टाचार पनि रेकर्डैै भयो भन्छन्? – कहाँ भयो, यो अमुर्त कुरा गरेर हुँदैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनेको छ। त्यसले छानविन गरे भइहाल्छ नि म र हिसिला आफैं दक्ष इन्जिनियर हौं। नक्सा कोरेर महिनाको करोडौं रुपैयाँ आफैं कमाउन सक्छौं। भएका सम्पत्ति छाडेर ज्यान फालेर हिँडेका मान्छे अहिले आएर भ्रष्टाचार गर्‍यौं भन्ने कुरामा पनि कुनै तुक हुनसक्छ? मेरो, श्रीमती र छोरीको नाममा भएको सम्पत्तिको विवरण बुझाइएको छ। त्योभन्दा बाहेकको एक पैसाको पनि सम्पत्ति छ भने अहिले लगे हुन्छ। ० बाबुराम भट्टराई प्रतिको अपेक्षा प्रधानमन्त्री भए पछि त ह्वात्तै घट्यो नि? – नेपाली जनताको परिवर्तनका अपेक्षाहरू धेरै ठूला थिए। यो संक्रमणकालमा जनताको अपेक्षाअनुसार काम गर्न गाह्रो थियो। पहिलो कुरा यो बहुमतको सरकार थिएन, संयुक्त सरकार थियो। संक्रमण कालमा जनतालाई जुन राहत दिने गरी बजेट ल्याउनुपर्ने थियो त्यो ल्याउन दिइएन। आदि–आदि कारणले जनताको अपेक्षा पूरा नभएको हुनसक्छन। त्यो म मान्छु तर बाबुराम भट्टराइले नियतबश नै गरेर भनेर जनताले भन्छन् भन्ने मलाई लाग्दैन। ० चुनावमा गठबन्धन बनाउनु हुन्छ? – हामी परिवर्तनकारी शक्तिहरू माओवादी, मधेसवादी, जनजाति, महिला, दलित, मुस्लिमहरूको बृहत्तर मोर्चा बनाएर निर्वाचनमा जान्छौं। हाम्रो समाज बहु जाति, बहु धर्म र बहु वर्गमा विभाजित छ। सबैलाई समेटेर लैजानुपर्ने अवस्था छ। गठबन्धन नै हुन्छ हुँदैन तर निर्वाचनमा परिवर्तनकारी शक्तिहरूलाई समेटेर अघि बढ्न चाहन्छौं। ० एमाले र कांग्रेसको शक्तिबाट डराएर गठबन्धन बनाउन लाग्नुभएको? – एमालेलाई त म त्यति ठूलो स्पष्ट विचारधारा भएको शक्ति म मान्दिनँ। कांग्रेस भनेको पुरानो बुढो भइसक्यो। वैचारिक ढंगले पनि बुढो भइसक्यो। सांगठनिक ढंगले पनि ऊ धेरै जर्जर भइसक्यो। उसले यो देशको परिवर्तनको नेतृत्व गर्न सक्दैन। कांग्रेस त रहन्छ तर नेतृत्व दायी शक्तिको रुपमा चाही रहँदैन। ० बहुमत आए माओवादीबाट को प्रधानमन्त्री हुन्छ? – अहिले हामी चुनावमा जाँदैछौ। यो संविधानसभाको निर्वाचन भएकोले संविधान निर्माणमै पहिलो जोड हाम्रो हुन्छ। दुई तिहाई बहुमत आयो भने त हाम्रै ढंगले सरकार पनि संविधान पनि बनाउँछौ। हाम्रो मात्रै दुई तिहाई आएन र गठबन्धन गर्नुपर्यो भने त्यसबेला अरुसँग पनि लेनदेन गर्नुपर्ने हुन्छ। त्यसैले अहिले नै हामीले व्यक्तिको विषयमा बोलेका छैनौं। तर अध्यक्ष प्रचण्डकै नेतृत्वमा यो प्रक्रिया अघि बढ्छ। ० प्रधानमन्त्री बन्ने तपाइँको चाहना छैन? – मेरो चाहना भन्नुहुन्छ भने यो देशमा विकास र समृद्धि होस। म अलि राजनीतिक अर्थशास्त्रमा रुची राख्ने मान्छे हुँ। त्यसैले म यो देशमा विकास र समृद्धि ल्याउन पाए हुन्थ्यो भन्ने चाहन्छु। शासनसत्ता चलाउने शक्तिको लालसा मलाई त्यति छैन। ० तपाइँलाई त सत्तामा टासिरहन चाहने नेता भन्छन नि? – त्यो विल्कुल होइन। त्यो केही शक्तिले लगाउने आरोप मात्रै हो। नेपाली जनताले त बाबुरामले गर्न खोजेको थियो तर दिएनन भन्ने धारणा बनाएका छन्। मैले सत्ता नछाड्न चाहेको होइन। निर्वाचन गराउने मेरो दायित्व थियो। म निर्वाचित प्रधानमन्त्री त्यती बेला अरु को हुन सक्थ्यो। ० सुशील कोइरालालाई त प्रधानमन्त्री बनाउन चाहनु भएन नि? – उहाँ हुने आधारै थिएन। उहाँ संविधानसभाको सदस्य पनि हुनुहुन्न थियो र उहाँ सबै भन्दा ठूलो पार्टीको नेता पनि होइन। ० तपाइँको अध्यक्षले त उहाँको नाममा समर्थन जनाउनु भएको थियो भन्छन्? – उहाँले कहिल्यै पनि समर्थन जनाउनु भएको थिएन। त्यो भ्रमको कुरो हो। संविधानसभाबाट संविधान बनेको अवस्थामा अर्को निर्वाचनको निम्ति सुशील कोइराला हुन सक्नुहुन्छ भन्ने कुरा हो। तर संविधानसभाबाट संविधान नबने पछि त उहाँको कुनै सम्भावना नै थिएन नि। ० राष्ट्रपतिको कार्यकाल कति? – संविधानमा केही अस्पष्टता छन्। उहाँको कार्यकाल पाँच वर्ष त कटिसक्यो। राष्ट्रपतिको पनि निश्चित कार्यकाल हुनुपर्छ। यो नयाँ निर्वाचन भएपछि व्यवस्थापिका संसद्ले त्यस विषयमा आवश्यक निर्णय गर्छ। नयाँ निर्वाचन पछि नयाँ राष्ट्रपतिको निर्वाचन हुन्छ। ० तपाइँलाई चीनले विश्वास नगरेको कारण के? – त्यो गलत कुरा हो। चीनको प्रधानमन्त्री नेपाल आउनु नै ठूलो कुरा थियो। १० वर्षपछि पहिलो पटक उहाँ नेपाल भ्रमणमा आउनु भएको थियो। त्यो चानचुने कुरा होइन। चीन पनि नेतृत्व परिवर्तनकै कालखण्डमा थियो त्यसको कारणले समय भएन। मेरो चीनसँग राम्रो सम्बन्ध थिएन भन्ने कुरा गलत हो। ० लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन भारतसहित मित्र राष्ट्रको भूमिका थियो? – जे कुरामा पनि विदेशीकै भूमिका हेर्ने हाम्रो यस्तो मनोग्रन्थबाट मुक्त हुनुपर्छ। उनलाई नेपालका चार राजनीतिक दलले सिफारिस गरेका हुन्। त्यसैको आधारमा संवैधानिक परिषद्ले सिफारिस गरेर राष्ट्रपतिलाई पठायो। राष्ट्रपतिले त्यसलाई स्वस्कार्नु भयो र सपथ लिनुभयो। ० किन लोकमान नै? – कोही न कोही आउनै पर्दथ्यो। यसैमा सबै सहमति बन्यो र उहाँ आउनु भयो। जनआन्दोलनमा दमन नगरेका व्यक्ति त को पाइन्छ र? हिजोका सेनाका प्रहरीका, प्रशासनका, न्यायालयमा रहेका सबै व्यक्ति हिजोको जनआन्दोलनमाथिको दमनमा संलग्न थिए। ती सबैलाई हटाउने हो भने त नेपालमा कोही पनि बाँकी रहँदैनन्। अहिले हल्लाको आधारमा कसैलाई आरोपित गर्नु हुँदैन। भोलि भ्रष्टाचार गरेको अभियोग प्रमाणित भए संसद्ले महाअभियोग लगाएर हटाउन सक्छ। ० माओवादीका नेतालाई बचाउन लोकमानलाई ल्याएको हो भनिन्छ नि? – सबैभन्दा त्याग र बलिदानी गर्ने पार्टी माओवादी हो। माओवादी नेताहरूका सम्पत्ति सबै लैजाउ र तिम्रो सबै सम्पत्ति हामीलाई देउ हामी राष्ट्रिय करण गर्छौ भनेर हामीले घोषणाा गरिसकेका छौं। माओवादी नेताहरूलाई बचाउनु पर्ने कुनै कारण छैन। भ्रष्टाचार प्रमाणित गर्नसके जेल हाले हुन्छ– डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses