लिम्बू हुँ भन्दैमा भोट नदिनोस् : प्रचण्ड

पाँचथरमा प्रचण्डद्वारा सुभास नेम्वाङको निन्दा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२९ जेठ, पाँचथर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पाँचथरमा आयोजित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै लिम्बु नेता भएर पनि सभामुख सुभासचन्द्र नेम्वाङले संविधानसभा हाँक्न नसकेको आरोप लगाउनुभयो ।



म्याद सकिने अन्तिम दिन संविधानसभाको बैठक डाक्न आफूले आग्रह गर्दा पनि एमाले नेताहरुले रक्तपात हुन्छ भनेर डर देखाएपछि नेम्वाङले बैठक बोलाउन नसकेको प्रचण्डले बताउनुभयो । ‘बैठक डाक्नोस्, संविधान नबनुञ्जेल खाना पनि त्यहीँ खाऔंला, त्यहीँ सुतौंला भनेर आग्रह गर्दा पनि समामुखले बैठक डाक्न नसकेकाले संविधान बनेन ।’- पाँचथर सदरमुकाममा मंगलबार आयोजित लिम्बुवानको सम्मेलन उद्घाटन कार्यक्रममा प्रचण्डले भन्नुभयो- ‘एमालेले डर देखाएकाले उहाँले बैठक नबसाल्नुभएको हो, जसले गर्दा संविधान बनेन ।’

प्रचण्डले आगामी चुनावमा संघीयता पक्षधरलाई मत दिनुपर्ने भन्दै लिम्बू उमेद्वार देख्दैमा भोट नहाल्न सुझावसमेत दिनुभयो । इलामका सुभास नेम्वाङ र लिम्बुवानका अन्य दलका लिम्बु उमेद्वारहरुलाई प्रचण्डले लक्षित गर्दै भन्नुभयो- ‘लिम्बुवान पक्षधर र संघीयतावादीलाई मत दिनुभयो भनेमात्रै संघीयता र लिम्बुवानसहितको संविधान बन्छ ।’ उहाँले एनेकपा माओवादी लिम्बुवान राज्य बनाउने पक्षमा रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा गोपाल किरातीले लिम्बुवानको साटो किरात प्रदेश भए राम्रो हुने तर्क गर्नुभएको थियो ।

‘पेस्तोल भिरेर घोडामा आएको थिएँ’

प्रचण्डले आफू तीनपटक लिम्बुवानमा आएको सभामा बताउनुभयो । ‘पाँचथरको नाङ्गीनमा जनयुद्धकालमा लिम्बुवान मुक्ति मोर्चाको गठन हुँदा पेस्तोल भिरेर, घोडा चढेर आएको थिएँ ।’- प्रचण्डले भन्नुभयो, ‘योपटक समेत गरी ३ चोटि भयो ।’

बाबुराम आउने प्रचारमात्रै

लिम्बुवान मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुने प्रचार गरिए पनि प्रचण्डपक्षका नेताहरुमात्रै सहभागी भए । कार्यक्रममा गिरिराजमणि पोखरेल, हेमन्त्रतप्रकाश वली र गोपाल किराती पनि सहभागी थिए । कार्यक्रम सकेर प्रचण्ड बिराटनगरसम्म गाडीमा आई बुधबार विमानबाट राजधानी र्फकनुभएको छ ।

सम्मेलनमा त्रिपक्षीय भिडन्त

मंगलबार प्रचण्डले उदघाटन गरेको सम्मेलनको बुधबार बन्दशत्र चलिरहेको छ । सम्मेलनमा श्रीप्रसाद जबेगू, मुकेश मेन्याङ्बो र हरिराज खेवासमेत तीनजना अध्यक्षका दाबेदार देखिएका छन् । जबेगू भट्टराई निकट मानिन्छन् भने पूर्वअर्थराज्यमन्त्री खेवा र केन्द्रीय सदस्य मेन्याङ्बो दुबे प्रचण्ड पक्षका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses