कुटपिट र तोडफोडमा पूर्व सभासदका भाइहरु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जितेन्द्रकुमार झा, राजविराज, चैत २० - सप्तरी क्षेत्र नम्बर ३ का पूर्व संविधानसभा सदस्य महेशप्रसाद यादवका भाईहरुले आक्रमण गरी आफ्नो घर तोडफोड गरेर कुटपिट गरेको आरोप सप्तरीको वरहीविरपुर-१ हाटीका महन्थी यादवले लागाएका छन्। पीडित महन्थी सभासद यादवका छिमेकी हुन्।

सभासद महेशका भाईहरु उमेश यादव, दिनेश यादव सहित आएका ५ जनाको समूहले पेस्तोल तथा घरेलु हतियारहरुको प्रयोग गरेर श्रीमती उर्मीला यादव र बुहारी राधाकुमारी यादवलाई कुटपिट गरेको महन्थीको आरोप छ। कुटपिटमा घाइते भएकी बुहारी राधा अहिले पनि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको आकास्मिक कक्षमा उपचार गराइरहेकी छिन्। कुटपिटका कारण आफू दुवै (महन्थी र उनकी पत्नी)लाई पनि चोटपटक लागेको उनको भनाइ छ।

'पुस्तौदेखि आफ्नो परिवारले भोग चलन गर्दै आएको ऐलानी जग्गा खाली गर्न उनीहरु(आरोपी)हरुले अघिदेखि नै दबाब दिँदै आएका थिए,' महन्थीले भने, 'उक्त जग्गा खाली गराउनका लागि यसअघि पनि उनीहरुले तीनपटक आक्रमण गरिसकेका छन्।' पछिल्लो डेढ महिनादेखि इलाका प्रहरी कार्यालय छिन्नमस्तामामा जीउज्यानको सुरक्षाका लागि पहल गर्न चहार्दा पनि प्रहरीबाट कुनै पहल नभएको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदन देखाउँदै उनले भने, 'प्रहरी प्रशासनले पनि सहयोग गरेनन्, पूर्व सभासदको भाई भएका कारण प्रहरी प्रशासनले पनि उनीहरुलाई नै सघाएका छन्।'

पीडितले आजै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइ कुटपिट तथा तोडफोडमा संलग्न रहेकाहरु उपर कारवाहि र क्षतिपुर्तिको माग गरेको छ। किटनी जाहेरीमा सभासदका भाईहरु उमेश यादव, दिनेश यादव सहित स्थानिय रञ्जन यादव, हंसराज यादव र देवराम यादव उपर कारबाहीका लागि माग गरिएको छ। 'उनीहरुले घर सम्म तोडफोड गरीदिए, अस्पतालवाट फर्केर कहाँ वस्ने भन्ने समस्या उत्पन्न भएको छ।'

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले किटानी जाहेरीको आधारमा घाइतेहरुको घाउजाँच गराई सकिएको बताए। उनले भने, 'कुटपिट र तोडफोड भएकै हो, हामी आरोपीहरुलाई खोज्दै छौ।'

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses