फेरि दुई रंगको ग्यास सिलिन्डर कार्यान्वयनमा ल्याउने,बाबुरामले नसकेको काम रेग्मी सरकारले गरेरै छाड्ने ,

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नविन अर्याल ६ बैशाख, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याउन नसकेको दुई रङको सिलिण्डर खिलराज रेग्मी सरकारको पालामा कार्यान्वयन हुने भएको छ । नेपाल आयल निगमले साउन महिनादेखि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने गरी तिब्र रुपमा ग्याँस कार्डको प्रमाणीकरण गरिरहेको छ । बाबुराम सरकारले दुईरंगे सिलिन्डरको नीति ल्याउनासाथ राजधानीका विरोध प्रदर्शन भएपछि केही घण्टामै नीति फिर्ता लिइएको थियो ।



नेपाल आयल निगमले गत चैत १ गतेदेखि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने बताए पनि उपभोक्ताहरुको हातमा ग्याँस कार्ड पुग्न नसक्दा कार्यान्वयनमा आउन सकेको थिएन । निगमले गत भदौ, कार्त्तिक र मंसिरमा पनि दुईथरि ग्याँस सिलिण्डर कार्यान्वयनमा ल्याउने बताएको थियो । चैत महिनादेखि लागु हने गरी निगमले फागुन २ गते घरायसी उपभोक्तालाई अनुदान र व्यवसायिक उपभोक्तालाई परल मूल्यमा ग्याँस उपलब्ध गराउने घोषणा गरेको भोलिपल्टै सर्बत्र तिब्र बिरोध भएपछि बाबुराम भट्टराईले टि्वटरमार्फत दुईथरि सिलिण्डर कार्यान्वयन गर्ने प्रकृया नपुगेको भन्दै निगमलाई निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

‘निगमले प्रकृया पुर्‍याएर साउनदेखि दुई रङको सिलिण्डर कार्यन्वयनमा ल्याउने तयारी गरिरहेको छ’-निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भन्नुभयो- ‘साउनदेखि कार्यान्वयन गर्ने गरी हामीले कार्डको प्रमाणीकरण तथा वितरणको काम तिब्र गतिमा अगाडि बढाएका छौं ।’ उपभोक्ताहरुबाट विरोध नहुने गरी दुई रङको सिलिण्डर कार्यन्वयनमा ल्याउने तयारी निगमको छ । ‘अहिलेसम्म निगममा प्रमाणीकरणका लागि भनेर २ लाख ६३ हजार ग्याँस कार्ड आइसकेका छन्’ निगमका उपनिर्देशक दिनेशकुमार यादवले अनलाइन खबरसँग कुरा गर्दै भन्नुभयो- ‘बुधबारसम्म १ लाख ८८ हजार कार्डहरु निगमले प्रमाणीकरण गरेर वितरणका लागि पठाइसकेको छ ।’ प्रमाणीकरण गरिएका कार्डहरुमध्ये १ लाख ५५ हजार २३ वटा कार्ड उपत्यकाका तीन जिल्लाका लागि हुन् ।

ग्याँसको प्रयोग गर्ने सबैभन्दा बढी राजधानीमा बस्छन् । निगमका अनुसार राजधानीमा ६ लाखभन्दा बढी कार्डको आवश्यकता पर्छ । निगमले ९ लाख कार्ड प्रमाणीकरण गरेपछि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने भन्दै कामलाई तिब्र बनाएको छ ।

निगमले उपभोक्ता कार्ड इन्ट्री गर्ने काम त्रिपुरेश्वरस्थित सुपर एक्पोर्ट इम्पोर्ट कम्पनीलाई जिम्मा दिएको छ । कम्पनीले दैनिक १५ जना अपरेटरमार्फत दैनिक २५ सयको हाराहारीमा कार्डहरु इन्ट्री गर्ने काम गरिरहेको उपनिर्देशक यादवले बताउनुभयो ।

उपनिर्देशक यादवका अनुसार उपत्यका बाहिरबाट १ लाख १० हजार र उपत्यकाभित्रबाट १ लाख ५३ हजार कार्ड प्रमाणीकरणका लागि आएका थिए । अहिलेसम्म उपत्यकाका तीन जिल्लासहित झापा, सुनसरी, मोरङ, रुपन्देही, नवलपरासी, कास्की, कपिलवस्तुलगायतका जिल्लाबाट कार्ड प्रमाणीकरणका लागि आएको उहाँको भनाइ छ । ‘अन्य जिल्लाबाट पनि प्रमाणीकरणका लागि आउने क्रम जारी छ’ उहाँले भन्नुभयो- ‘ग्यास कार्ड वितरणलाई प्रभावकारी बनाउन निगम र ग्यास बिक्रेता महासंघले उपभोक्तालाई सूचना दिन देशभर माइकिङ कार्यक्रम सुरु गरेको छ ।’ निगमले ग्यास उद्योगी संघलाई पनि उपभोक्तामा सुचना प्रवाह गर्नको लागि लिखित आग्रह गरेको छ ।

प्रमाणीकरण गरेका कार्डहरुमध्ये नीलो कार्डको संख्या अत्यन्त न्यून रहेको छ । फागुनको तेस्रो सातासम्म प्रमाणीकरण गरिएका कुल ८५ हजार ५ सय कार्डमध्ये ६ हजार मात्रै नीलो रङका कार्ड थिए । निगमले घरायसी प्रयोजनका लागि रातो रङको सिलिण्डर र व्यवसायीक प्रयोजनका लागि नीलो रङको सिलिण्डर प्रयोगमा ल्याउने तयारी गरेको छ ।

ग्यास कार्ड प्रमाणीकरणका लागि ग्यास विक्रेता महासंघले पनि तदारुकता देखाएको छ । निगमका अनुसार अहिलेसम्म प्रमाणीकरणका लागि आउने कार्डहरुमध्ये सबैभन्दा बढी महासंघमार्फत छन् । त्यस्तै, साल्ट टे्रडिङ, नेशनल टे्रडिङबाट पनि कार्ड आउने क्रम जारी रहेको निगमले बतायो । महासंघले थप दुई लाख कार्ड विभिन्न जिल्लाबाट भरेर ल्याउन लागेको बताउँदै प्रमाणीकरण भइसकेका कार्डहरु वितरणको काम तिब्र रुपमा भैरहेको बताएको छ । निगमका अनुसार २८ वटा ग्यास उद्योगका कार्डहरु प्रमाणीकरणका लागि आएका छन् । अहिले मुलुकभर करिव ४६ वटा ग्याँस उद्योगहरु सञ्चालनमा रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses