अझै ५० लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी, जनक शिक्षासँग स्पष्टीकरण माग

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३ बैशाख, काठमाण्डौं । चालू शैक्षिक सत्र सुरुसँगै मुलुकभर विद्यालय तहको पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ नहुँदा मुलुकभरका विद्यार्थीले समस्या झेल्नुपरेको छ । मुलुकभरका विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिएको छ ।



तर, शैक्षिक सत्र सुरु भइसक्दा पनि केन्द्रले अझैसम्म ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न नसकेको पाइएको छ । विगतका वर्षमा पनि केन्द्रको यस्तै गैरजिम्मेवारीका कारण विद्यार्थीले पर्याप्त पाठ्यपुस्तकको अभावमै परीक्षा दिन बाध्य भएका थिए । शिक्षा विभागमा सोमबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकमा केन्द्रले नयाँ शैक्षिक सत्र सुरु हुँदासम्म पनि आवश्यकताअनुसारको पुस्तक छपाइ नगरेर अभाव सिर्जना गरेको विषयमा बैठक बसेको थियो ।



बैठकले अझै पनि ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी रहेको भन्दै सो काम सम्पन्न हुन नसक्नुको कारणसहित केन्द्रका महाप्रबन्धकलाई तीन दिनभित्र शिक्षा विभागमा उपस्थित हुन निर्देशन दिने निर्णय गरेको जानकारी दिए । चालू शैक्षिक सत्रका लागि विद्यालय तहमा १ करोड ४४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तर, केन्द्रले भने पाठ्यपुस्तक छपाइमा समयमै कागज नभएका कारण समस्या आएको दाबी गरेको छ । केन्द्रले दैनिक १ लाख २५ हजार छपाइ गर्ने जनाएको थियो । केन्द्रका अध्यक्ष शिक्षा सचिव सोमलाल सुवेदी हुन् । ‘अध्यक्ष नै पुस्तक छपाइका लागि जिम्मेवार नभएका कारण समस्या भएको हो,’ अभिभावक संघका अध्यक्ष एवं पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिका सदस्य सुप्रभात भण्डारीले भने राजधानीमा खबर छ ।



विभागले पाँच विकास क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदनअनुसार मुलुकका अधिकांश जिल्लामा आवश्यकताअनुसार सबै विषयको पाठ्यपुस्तक पुग्न नसकेको तथ्यांक प्रस्तुत गएको थियो । कर्णाली अञ्चलमा समेत पुस्तक पुगेको छैन भने अन्य जिल्लामा झनै समस्या आएको सदस्य भण्डारीले राजधानीलाई बताए । नयाँ शैक्षिक सत्र सोमबारदेखि सुरु भएको छ । विद्यार्थीलाई विद्यालयमा भर्ना हुन आएको समयमा तत्काल किताब दिन विभागले मुलुकभरका सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । तर, किताब अभावका कारण ग्रामीण क्षेत्रमा समस्या हुने देखिएको छ । धादिङ, बाँके, सुर्खेत, दैलेख, पाल्पा, तनहुँलगायतका जिल्लामा पाठ्यपुस्तकको चर्को समस्या रहेको छ । समितिको बैठकले निजी प्रकाशन गृहले अनधिकृत रूपमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरी जिल्लामा पाठ्यपुस्तक बिक्री–वितरण गरेकाले कारबाही प्रक्रिया अगाडि बढाइने निर्णय गरेको छ । यदि, नियमभन्दा बाहिर गएर कुनै काम भएमा त्यस्ता प्रकाशन गृहलाई आगामी शैक्षिक सत्रका लागि पुस्तक छपाइका लागि सूची दर्ता नगराउने र जरिवाना गर्नेसम्मको व्यवस्था छ । बजारमा गुणस्तरीय पाठ्यपुस्तक छन् वा छैनन् भनेर अनुगमन कार्यलाई समेत तीव्रता दिने निर्णय समितिले गरेको विभागका महानिर्देशक डा. लवदेव अवस्थीले जानकारी दिए ।



साझा प्रकाशनले नियुक्त गरेका एजेन्टले किताब नउठाएका कारण समस्या आएको केन्द्रको भनाइ छ । सो विषयमा अध्ययन गरेर आफूलाई दिइएको जिम्मेवारी पूरा नगर्ने एजेन्टलाई तत्काल खारेज गर्ने निर्णयसमेत समितिले गरेको छ । विभागका महानिर्देशक अवस्थीका अनुसार विद्यार्थीलाई समयमा पाठ्यपुस्तक पु¥याउने दायित्व सरकारको रहेकाले पाठ्यपुस्तक नपु¥याउने र छपाइ नगर्नेमाथि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । कमिसनको चलखेलकै कारण पाठ्यपुस्तक छपाइ र वितरणमा समस्या आएको अभिभावकहरूको गुनासो छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses