बाहिर फ्लिमको नाउमा भित्र अर्कै धन्दा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

अभिनेता तथा निर्माता केशव भट्टराईले बनाएको पछिल्लो फिल्म सो सिम्पलले खासै राम्रो व्यापार गर्न सकेन । यो फिल्म असफल फिल्मको कोटिमा पर्यो । निर्माता भट्टराईकै अनुसार फिल्म केही ठाउँमा चलाउन बाँकी भए पनि ती ठाउँमा चलाउँदा समेत फिल्मले लगानी उठाउन सक्दैन । यो फिल्मले घाटाको व्यापार गरेपछि उनी तत्काल अर्को फिल्म बनाउने मनस्थितिमा छैनन् । उनी फिल्म उद्योग छोडेर अर्को पेसामा लाग्ने पक्षमा पनि छैनन् ।



भट्टराईका अनुसार अहिले फिल्म बिग्रिएका छन् । नराम्रा फिल्म बनेर फिल्म नचलेको सत्य हो । तर फिल्मको माहोल पनि बिग्रिएको छ जसका कारण कतिपय राम्रा फिल्म पनि चल्दैनन् । त्यसैले फिल्म क्षेत्रका कतिपय आधारभूत विषयलाई परिवर्तन गर्नुपर्ने भएको छ । त्यो परिवर्तन नगर्ने हो भने जति राम्रा फिल्म बनाए पनि लगानी उठाउने अवस्था छैन । भोलिका दिनमा यो क्षेत्रको माहोल परिवर्तन होला नहोला केही भनिहाल्ने अवस्था तत्काल छैन । तैपनि केशव भट्टराई यो पेसा परिवर्तन गर्ने पक्षमा छैनन् । केशव भट्टराईजस्तो आर्थिक नोक्सान सहेरै भए पनि यही क्षेत्रमा लागिरहन्छु भन्ने कलाकर्मी पाउन निकै मुस्किल छ । उनलाई अपवादमा राख्ने हो भने यो क्षेत्रबाट आशातित सफलता हासिल गर्न सक्ने अवस्था नदेखिएपछि कतिपय यो उद्योगबाट कोल्टे परेका छन् भने कतिपयले वैकल्पिक व्यवसाय अपनाएका छन् । कुनै बेला निरन्तर फिल्म बनाउने युवराज लामा, अशोक शर्मा, कारसाङ लामा,रामकृष्ण बजगाईंलगायतका धेरै फिल्मकर्मी अहिले यो उद्योगबाट पाखा लागेका छन् । त्यस्तै धेरै कलाकर्मीले सुरक्षित भविष्यका लागि यो क्षेत्रको अतिरिक्त अन्य क्षेत्रलाई पनि रोजेका छन् ।



विभिन्न पेसामा लाग्नु र आफूलाई आर्थिक रूपमा सुरक्षित राख्नु अस्वाभाविक हैन । तर एकपछि अर्को फिल्मकर्मीले भटाभट वैकल्पिक धन्दा अपनाउनु भनेको फिल्म क्षेत्र कमजोर हुँदै गएको संकेत हो । अहिले फिल्म क्षेत्रका कलाकार, निर्माता वा प्राविधिक धेरैले फिल्म क्षेत्रमा सुरक्षित भविष्य नदेखेपछि वैकल्पिक पेसा अपनाएका छन् । तीमध्येका एक हुन् नायक राज तिमल्सिना । राज अहिले फिल्म क्षेत्र कमजोर भएकै कारणले रेस्टुरेन्ट व्यवसायमा लागेका छन् । ‘मेरो मुख्य कर्म थलो त फिल्म नै हो । अहिले पनि मैले खेलेका धेरै फिल्म आउँदै छन् भने सती प्रथामा आधारित फिल्म झोला पनि बनाइरहेको छु । तथापि यो क्षेत्रले मेरा सबै आवश्यकता धान्ने अवस्था भएन’,डिल्लीबजारको कालिकास्थानमा हुक्काको फ्लेवर चखाउने रेस्टुराँ सञ्चालन गरिरहेका किसर हिरो भन्छन्– ‘त्यसैले मैले वैकल्पिक पेसाका रूपमा रेस्टुरेन्ट खोलेको छु । यो मेरो अहिलेको आवश्यकता हो । फिल्म उद्योगको हालत राम्रो भएको भए म यो पेसामा लाग्ने थिइनँ ।’ निर्देशक उकेश दाहालले पनि फिल्मको भर नभएपछि रेस्टुरेन्ट खोलेका छन् । अहिले उनले बनाएको फिल्म किन किन प्रदर्शनका लागि तयार भएको छ । यसपछि पनि उनको फिल्म बनाउने योजना नभएको हैन,तथापि उद्योगमा देखिएको कालो बादलका कारण उनले वैकल्पिक पेसा रोजे । ‘नेपालमा नेपाली फिल्म चले पनि नचले पनि हिन्दी फिल्म अवश्य चल्छ । नेपाली उत्पादकको पानी प्रयोग भए पनि नभए पनि विदेशी पानीको प्रयोग जरुर हुन्छ’, यौनोत्तेजक फिल्म बनाउँदै आएका उकेश गफिन्छन्– ‘फिल्म मात्रै बनाउँदा भविष्य निश्चित नहुने भएपछि थापाथलीमा विदेशी पानी पनि बेच्न मिल्ने रेस्टुरेन्ट खोलेको छु । यो रेस्टुरेन्ट खोलेको फिल्म नबनाउन हैन, बरु एउटा फिल्ममा घाटा लागे अर्को फिल्म बनाउन समस्या नहोस् भनेर हो ।’

पछिल्लो समयमा वैकल्पिक काम गर्ने अर्का फिल्मकर्मी हुन् नृत्य निर्देशक दिनेश अधिकारी । पहिलेदेखि नै डान्स ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका उनले अहिले मैतीदेवी कम्प्लेक्समा सुटिङमा प्रयोग हुने र अन्य रेडिमेड सामानको पसल खोलेका छन् । दर्जनौं नेपाली फिल्मलाई कुशन नृत्य निर्देशन प्रदान गर्दै आएका उनले नेपाली हर्बल प्रोडक्ट प्रयोग गरी चावहिलमा थेरापी सेन्टर पनि खोलेका छन् । उनको जवाफ पनि उही छ– ‘अहिलेको समयमा फिल्म क्षेत्रमा लागेर मात्रै भविष्य सुरक्षित गर्न सकिँदैन ।’

निर्माता निर्देशक तथा अभिनेता आकाश अधिकारीले पनि फिल्मबाटै मात्र जीवन चलाउन कठिन देखिएपछि केही वर्षदेखि रेड क्यामेरा र त्यसै प्रविधिको भिडियो एडिटिङसहितको रेड स्टुडियो सञ्चालन गरेका छन् । उनी फिल्म निर्माण र त्यसको व्यापारबाट भर गर्न नसकिने भएपछि क्यामेरा भाडामा दिएर तथा स्टुडियोमा प्राविधिक काम गराएर अर्थोपार्जन गर्छन् । त्यसै गरी सेक्स टेप सार्वजनिक भएपछि विवादमा परेकी नायिका नम्रता श्रेष्ठको कमाइ गर्ने थलो हिजोआज फिल्म क्षेत्र नभएर राष्ट्रिय संग्रहालयको उत्तरढोकातर्फ रहेको एटिक बार भरपर्दो व्यापार भएको छ । नायक कर्माले पनि त्यतै रेस्टुरेन्ट सञ्चालन गरेका छन् । कुनै बेला दौंतरी, ठुल्दाइजस्ता सुपर हिट फिल्म दिएका निर्माता तथा अभिनेता रामकृष्ण चापागाईंले नेपाली फिल्मको बिग्रँदो अवस्थाकै कारण पुरानो बानेश्वरको काभ्रे डेरीलाई व्यवसायको प्रमुख धन्दा बनाउँदै आएका छन् । नायक धीरेन शाक्यले पनि धेरै अघिदेखि नै क्यामेरालगायतका सामान भाडामा दिने व्यापार चलाउँदै आएका छन् । उनी विदेश आवतजावत गरिरहनुपर्ने अरू काम पनि गर्छन् । तर त्यो कामबारे धीरेनले अहिलेसम्म खुलाएका छैनन् । केही फिल्ममा निर्मातासमेत रहेका हास्य अभिनेता निर्मल शर्मा ‘गैंडा’ लामो समयदेखि होटलसम्बन्धी व्यवसाय गर्दै आएका छन् ।

नायक श्रीकृष्ण श्रेष्ठले पनि हालसालै गौशालाको पिंगलास्थानमा तीनतारे होटलसहितको कलिउड प्लानेट सञ्चालनमा ल्याएका छन् । उनले एक वर्षसम्म कलाकारिता र फिल्म निर्माणको कामलाई थाती राखेर यो काम गरे । ‘मैले समयअनुसार चल्नका लागि यो होटल खोलेको हो । यसमा मीठो खाना खाने व्यवस्थादेखि फिटनेस गर्ने, सेमिनार गर्नेजस्ता सुविधा छन्’, श्रीकृष्ण भन्छन्– ‘मैले कालाकारिता पनि छोडेको छैन ।’ नायक मुकेश आचार्यले पनि बत्तीसपुतलीमा रेस्टुरेन्ट खोलेका छन् ।

उनले पनि एउटै पेसामा भर पर्ने अवस्था नभएकाले यो रेस्टुरेन्ट खोलेको प्रस्ट पारे । निर्देशक रामाराज दाहालले पनि असनमा रेस्टुरेन्ट खोलेका छन् । उनी अहिले नयाँ फिल्म नेपथ्यको निर्देशनमा पनि जुटेका छन् । उनी रेस्टुरेन्ट खोलेको विषयमा भन्छन्– ‘हाम्रो सधैं व्यस्त हुने काम हैन । अब भटाभट जस्तो पायो त्यस्तै फिल्म गरेर पनि काम भएन । त्यसैले साइड बिजनेस पनि गरौं भनेर यो रेस्टुरेन्ट खोलेको हुँ ।’ माथि उल्लेखितलगायत धेरै फिल्मकर्मीले वैकल्पिक धन्दा अपनाएका छन् । यसले फिल्म उद्योगको वास्तविक धरातललाई प्रस्तुत गर्छ । लामो समयदेखि फिल्ममा लागेका कतिपय कलाकारको बिजोग भएर जीवन अन्त्य भएको उदाहरण पनि छ । दीपक क्षत्री, पवन मैनाली, आनन्द थापालगायतका केही कलाकारले अहिले पनि कष्टकर जीवनयापन गरिरहेका छन् । वैकल्पिक पेसा नहुने हो भने भोलि यी दिन आउने सम्भावना कम हुन्छ । फिल्मकर्मीको वैकल्पिक धन्दा मानवीय जीवनयापनको सकारात्मक पक्ष हो तथापि यो विषयसँग फिल्म उद्योगको यथार्थता उत्तिकै बलियो रूप जोडिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses