अब किन नहाल्ने कुकुरलाई भोट ?
२२ कार्तिक, काठमाडौ । देशकै सबैभन्दा सुगम ठानिएको काठमाडौ क्षेत्र नं १ को चुनावी प्रचार प्रसार अभियानमा एउटा फरक खाले दृष्य देख्न पाइन्छ । कुकुर चिन्हमा भोट हाल्न आग्रह गर्दै केही युवा रिक्सा लिएर घरदैलो गरिरहेका भेटिन्छन् ।
कुकुर चिन्हलाई भोट मागेको देख्दा केटाकेटी देखी बुढाबुढी सम्म हाँस्छन् । हुनपनि नेपाली समाजमा कुकुर बिम्व अरूलाई गाली गर्न र होच्याउन प्रयोग गरिन्छ, कुकुर जस्तो भनेर । तर, त्यही कुकुर चिन्हलाई सान्दार भन्दै केही युवाले चुनाव प्रचार गरिरहेका छन्, त्यो पनि अन्तराष्ट्रिय विश्वविध्यालयबाट डिग्री हासिल गरेका युवाहरू । काठमाडौका चारवटा निर्वाचन क्षेत्रमा कुकुर चिन्ह लिएर स्वतन्त्र चुनाव लडेका चारजना यतिबेला चर्चामा छन्, नेपालमा भन्दा विदेशमा बस्ने नेपाली माझ ।
एकपटक उनीहरूको पर्चा पढेका युवाहरू चुनावी प्रचारमा हिडन थालेका छन् । विवेकशील नेपाली नामक अनौपचारिक सञ्जालमा आबद्ध चारयुवाले विकृत बन्दै गएको राजनीतिक संस्कार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिएर धावा बोलेका हुन् । ‘जनताले परिवर्तन चाहेका छन्, तर यहाँका नेताले जनताको आकाक्षा संवोधन गर्न सकेनन्, काठमाडौ क्षेत्रनं १ का स्वतन्त्र उम्मेदवार गोविन्द नारायणले नेपालीहेडलाइन्ससँग भने, 'राजनीतिक कुसंस्कारका विरूद्ध हामी चुनावी मैदानमा उत्रिएका हौ ।’
गोविन्द नारायण काठमाडौ ओटुमा जन्मिएका ३७ बर्षीय युवा हुन्, उनले जवहारलाल विश्वविद्यालय भारतबाट अन्तराष्ट्रिय राजनीतिमा एम ए तथा जापान र अमेरिकाबाट कृषि, वातावरण र ग्रामीण विकासमा उच्च शिक्षा हासिल गरेका छन् । उनी शुसाशनको बिषयमा त्रिविमा अध्यापन गराउँछन् ।
मुलुककै सर्वाधिक चर्चाको केन्द्रमा रहेको काठमाडौ क्षेत्र नं ४ मा काग्रेसका युवा नेता गगन थापा र एमाओवादीका नन्दकिशोर पुन पासाङको निर्वाचन क्षेत्रमा पनि कुकुर चिन्ह लिएका युवा सन्तोष प्रधानले उम्मेदवारी दिएका छन् । कम्युटर इन्जिनियरिङमा स्नातक तथा अमेरिकाको हार्वड विजनेज स्कुलमा अध्ययन गरेका २५ बर्षीय ढिटाले ५० जनालाई रोजगारी दिनेगरी उद्यम गरिरहेका छन् ।
आइटी इन्जिनियर र कफी खेती गरिरहेका उज्जवल थापा एमाले महासिचव ईश्वर पोखरेल र कांग्रेसका नरहरी आचार्य उठेको काठमाडौ क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका छन्, कुकुर चिन्ह लिएर । पूराना राजनीतिक दलका उम्मेदवारलाई भेडासँग तुलनागर्दै स्वतन्त्र उम्मेदवारहरूले कुकुरलाई भोट मागिरहेका छन् । प्रमुख दलबाट चुनाव लडेका कतिपय उम्मेदवार उमेरले युवा भएपनि सोचाइको हिसाबले प्रौढ भएका कारण आफूहरू मैदानमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।
कुकुर चिन्ह लिएर स्वतन्त्र चुनाव लड्ने चौथा व्यक्ती हुन, पुकार बम । काठमाडौ ८ बाट उम्मेदवारी दिएका बमपनि सेष्ट जेभियर्स कलेजबाट स्नातक उनीपनि कृषि उद्यम गरिरेका छन् । कुकुर चिन्ह लिएका उम्मेदवारको साझा नारा छ, ‘कुकुरलाई भोट दिऊ इमान्दार छ, बफादार छ, भोटहाल्न सानदार छ !’ जनताको नसा नसामा राजनीति बगेको समयमा स्वतन्त्र उमेदवारलाई चुनाव जित्नु त्यती सजिलो छैन । विगत संविधानसभामा दुइजनाले स्वतन्त्र चुनाव जितेका थिए, तराइका जिल्लामा । ‘काठमाण्डौका सचेत जनताले स्वाद फेर्न चाहेका छन, यहाँका मतदाताले राजनीतिक दलमात्र होइन उम्मेदवारको अनुहार पनि हेर्छन्, गोविन्द नारायण भन्छन्, 'हामी हजार चुनौती सामना गर्न तयार छौ ।’nepaliheadlines
0 comments
Write Down Your Responses