३३ दलको आमहड्ताल २५ गते मात्र, अन्य दिन यातायात बन्द ,स्कुल बस पनि चल्न नदिने
२४ कात्तिक, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोषित चुनाव बहिस्कार आन्दोलनका कार्यक्रमलाई परिर्माजन गर्दै भोलि २५ गते मात्र आमहड्ताल गर्ने भएको छ । २६ गतेदेखि मंसिर ५ गतेसम्म ८ दिन यातायात बन्द गर्ने ३३ दलको निर्णय छ ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिर्वतन गरेको हो । ‘हामी आन्दोलनबाट पछि हटेका होइनौं, राष्ट्रघाति निर्वाचनको सशक्त प्रतिरोध गर्न आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको हो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता देव गुरुङले भन्नुभयो-’विपक्षीलाई थुनेर गरिने निर्वाचनले तानाशाहीको मात्र जन्म दिन्छ, त्यसैले यो निर्वाचनको प्रतिकार गर्छौं ।’
स्कुल बस गुड्न नदिने, के-के चल्न दिने ?
३३ दलीय मोर्चाले २५ गते विहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, कलकारखाना, शिक्षणसंस्था बन्द गर्ने बताएको छ । यातायात हडताल भने २५ गतेदेखि मंसिर ४ गते साँझ ५ बजेसम्म जारी रहने मोर्चाले जनाएको छ । यातायात हड्तालका क्रममा एम्बुलेन्स, रेडक्रस, अस्पतालका गाडी, शववाहन, फोहोर, पानी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडी, रिक्सा, साइकल र गेठा चल्न दिइने विज्ञप्तिमा उल्लेख छ । तर, यातायात हड्तालका क्रममा स्कुल बसहरुलाई भने चल्न नदिने माओवादी सचिव गुरुङले बताउनुभयो । यातायत हड्तालमा स्कुल बस चल्न दिने कि नदिने भन्ने अनलाइनखबरको प्रश्नमा गुरुङले भन्नुभयो-’विद्यालय खोल्ने नखोल्ने उहाँहरु नै जान्नुस तर, स्कुल बस चलाउन दिँदैनौं ।’
यसअघि माओवादी नेतृत्वको ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
३३ दलीय मोर्चाले देशलाई द्वन्द्वमा जान नदिन मंसिर ४ को निर्वाचन स्थगित गरेर गोलमेच सम्मेलनगर्नु पर्ने अडानलाई पुनः दोहोर्याएको छ । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै ३३ दलीय मोर्चाले यदि सरकारले धरपकड गरेमा भने त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘लोकतन्त्रमा निर्वाचन वहिष्कार गर्ने अधिकार हुन्छ । यदिन सरकार हस्तक्षेपमा उत्रेमा जनता प्रतिकारमा उत्रने छन्’, गुरुङले भन्नुभयो-’चारदलसँग सैद्धान्तिकरुपमा सहमतिमा पुगेको अवस्थामा चार दल र सरकार विमतिको बाटोमा गए । शान्तिपूर्ण बहिष्कारको विरुद्धमा सेना परिचाल गर्नु भनेको राजनीतिक रुपमा पराजित हुनु हो ।’
राष्ट्रसंघद्वारा आन्तरिक मामलामा हस्तक्षेप
संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधीले केही दिनअघि ३३ दलीय मोर्चाको आन्दोलन कार्यक्रमविरुद्ध सार्वजनिक गरेको धारणाप्रति ३३ दलीय मोर्चाले कडा आपत्ति जनाएको छ ।
राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको धारणा शान्तिपूर्णरुपमा निर्वाचनमा सहभागी हुने र बहिष्कार गर्ने दुवै अधिकार विरुद्ध भएको जनाउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि मोर्चाले आग्रह गरेको छ । ‘निर्वाचन वहिष्कार गर्नु र बन्द गर्नु अवैधानिक भनेर राष्ट्रसंघका प्रतिनिधिले लोकतन्त्रको मूल्य मान्याता विपरित बोलेको प्रति हाम्रो आपत्ति छ’, माओवादी सचिव गुरुङले भन्नुभयो, ‘कुटनीतिक मर्यादा विपरित आएको धारणाले नेपालमाथि हस्तक्षेप गर्ने काम भएको छ ।’
प्रेस विज्ञप्तिको पूर्णपाठ
आज मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु लिइएका छन् ।
१. मुलुकको विद्यमान सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ । परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।
२. राष्ट्रिय सहमति कायम गर्नका लागि हामीले आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार परिमार्जन गरिएको छ ।
क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
ख) कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात २४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार – एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको चक्काजाम हुनेछ ।
ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार-प्रसार, विरोधसभा, विरोध प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।
३. उपरोक्त आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर, किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी, शिक्षक-विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित गरिएको छ ।
४. निर्वाचन बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु, राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन-धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।
५. मुलुकको राजनीतिक निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।onlinekhabar
0 comments
Write Down Your Responses