कोरियन भाषा परीक्षा असोजमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
११ साउन, काठमाडौं । कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति तोकेको छ । आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ ।
भदौ ५ देखि ८ गतेसम्म विहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । काठमाडौं उपत्यकाभित्र सानो गौचरण ज्ञानेश्वर, सिद्धार्थ वनस्थली, ल्याबरोटरी स्कुल कीर्तिपुरमा फाराम बुझाउन सकिनेछ । त्यस्तै, उपत्यकाबाहिर धरान सभागृह र बुटवल प्रदर्शनी मण्डपमा पनि फाराम संकलन केन्द्र रहनेछन् ।
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर (करिब २ हजार ३ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।
नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी (एमओयू) अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीन पटक भाषा परीक्षा सञ्चालन भइसकेकेको छ ।
भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् । कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनोट गरेर रोजगारीमा बोलाउँछन् । भाषामा उत्तीर्ण हुँदैमा कोरिया रोजगारीमा जान पाइने निश्चित नभएको सरकारले स्पष्ट पारेको छ ।
करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र कृषि गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।
भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses