तीन नाबालाकलाई जबरजस्ती करणी गर्ने शिक्षकलाई ११ वर्ष जेल सजाय सहित जनही ५० हजार रुपैयाँ जरिवाना

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सिन्धुपाल्चोक- तीन नाबालकसँग अप्राकृतिक मैथुन गरेको घटनालाई जबरजस्ती करणी ठहर गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले एक शिक्षकलाई एघार वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले पीडितलाई पीडक शिक्षकबाट जनही ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ।



पीडितको जाहेरीले साँगाचोकस्थित जनजागृति उच्चमाविका शिक्षक नारायण श्रेष्ठ विरुद्धको मुद्दामा जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो। मुलुकी ऐनको जबरजस्ती करणी महलमा व्यवस्था भएबमोजिम अप्राकृतिक मैथुनलाई जबरजस्ती करणी ठहर गर्दै इजलासले फैसला सुनाएको अदालतका स्रेस्तेदार दशरथ पंगेनीले बताए।

अदालतले उक्त ऐनको जबरजस्ती करणी महल ३ को कसुरमा सोही महलको (२) को व्यवस्था र महल ९ (क) को थपसहित एघार वर्षको कैद फैसला सुनाएको हो। बालिकामाथि भएको बलात्कार मुद्दामा हुने सजाय महल ३ ले व्यवस्था गरेकोमा महल ९ (क) ले बालकसँग अप्राकृतिक मैथुन गरेमा जबरजस्ती करणी ठहर्ने व्यवस्था गरेको छ। कसुरदार शिक्षक श्रेष्ठलाई महल ३ (२) बमोजिम १० वर्ष र ९ (क) ले थप व्यवस्था गरेको एक वर्षसहित एघार वर्ष कैद सजाय सुनाइएको हो।

बालिका जबरजस्ती करणी गरेको ठहरिएमा १० वर्षमुनिको हकमा महल ३ को (१) को व्यवस्था बमोजिम १०–१५ वर्ष, १०–१४ वर्ष उमेर भए (२) अनुसार ८–१२ वर्ष र १४–१९ वर्ष उमेरका पीडित भएको खण्डमा (३) अनुरुप ६–१० वर्ष सजाय हुने व्यवस्था छ। महल ९ (क) मा भनिएको छ, 'कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे/गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ बमोेजिम हुने सजायमा थप एक वर्ष कैद गरी नाबालकलाई निजको उमेर, उसलाई पुग्न गएको असरसमेतको विचार गरी पीडकबाट मनाशिव क्षतिपूर्ति भराउनु।' पीडित तीनै जना बालक १३ वर्षसम्मका रहेकाले महल ३ (२) को व्यवस्थाबमोजिम १० वर्ष कैद सजायको फैसला अदालतले गरेको हो।

घटना हुँदा पीडित बालकत्रय जनजागृतिकै प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्थे। छिमेकी गाउँ ठूलोसिरुवारी गाविस घर भएका शिक्षक श्रेष्ठले २०६८ कात्तिकको विभिन्न फरक–फरक समयमा आफ्नो डेरामा बोलाई बालकमाथि जबरजस्ती अप्राकृतिक करणी गरेका थिए। उनले ६ जना बालकलाई करणी गरेका थिए। बाँकी तीन पीडितले ३५ दिनपछि किटानी जाहेरी दिएकोमा दर्ता भएन। जबरजस्ती करणी मद्दामा घटनाको ३५ दिन घटेर आउने मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिल कृष्णजंग साहले बताए।

परीक्षामा राम्रो अंक दिन प्रलोभन पारी करणी गरेका शिक्षक श्रेष्ठले पछि हल्ला गरे फेल गराइदिने धम्की दिएर करणीलाई निरन्तरता दिएका थिए। पीडित बालकको गुद्द्वारबाट पिप निस्कन थालेपछि साथीमार्फत् घटना सार्वजनिक भएको थियो। गाउँ बाल संरक्षण समिति र गाउँमा क्रियाशील महिला प्यारालिगल समितिको पहल र सहयोगमा पीडित बालकत्रयले २०६८ कात्तिक २४मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। बाल संरक्षण र प्यारालिगल समितिले नै शिक्षक श्रेष्ठलाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए। प्रहरीले मंसिर २२ मा उनी विरुद्ध जबरजस्ती करणी गरेको अभियोजन गरेकोमा अदालतले २५ गते पुपर्क्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

जिल्लामा बालक बलात्कार भएको घटना अदालत पुगेको र कैद सजाय फैसला सुनाइएको यो पहिलो घटना हो। सरकारी वकिल साहले यो मुद्दा र फैसला नेपालकै न्यायायिक इतिहासमा दुर्लभ भएको बताए। 'सम्भवतः यस्तो मुद्दा र फैसला दोस्रो हो। केही वर्षअघि काठमाडौंमा यस्तै प्रकृतिको मुद्दामा कैद सजायको फैसला भएको थियो,' उनले नागरिकसँग भने।source:nagariknews

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses