विवादै विवादमा बूढो भयो नेविसंघ, स्ववियू चुनाव नजिकिँदा पनि साम्य भएन झगडा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

६ बैशाख, काठमाण्डौ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आजदेखि ४३ वर्ष पार गरेको छ । आज नेविसंघले आफ्नो ४३ औँ स्थापना दिवस मनाइरहेको छ । तर, स्थापना कालदेखि नै विवादै विवादमा गुज्रँदै आएको नेविसंघको ४३ वर्षे इतिहासमा विवाद मिलाउन न त माउ पार्टीले सकेको छ, न त नेविसंघका नेतृत्वकर्ताहरुले नै । ०२७ सालमा नेविसंघको गठन भए यता उसले १७ वटा अध्यक्ष पाइसकेको छ । तर, विवाद मिलाउन सक्षम नेतृत्वको अभाव भने ४३ वर्षपचि पनि उत्तिकै खड्किरहेको छ ।



शेरबहादुरदेखि गगनसम्म जम्मै नेविसंघ

नेविसंघबाटै राजनीति गरेर अहिले धेरैजना माउ पार्टी नेपाली कांग्रेसको बरिष्ठ नेता भइसकेका छन् । नेविसंघले आफ्नो ४३ वर्षे कालखण्डमा विपीन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधी, ज्ञानेन्द्रवहादुर कार्की, बलहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद र धनराज गुरुङजस्ता नेताहरु जन्माएको छ । उल्लेखित नेताहरु नेविसंघको अध्यक्ष भएर पार्टीको राजनीतिमा आएका हुन् । त्यसैगरी गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल र कल्याङ गुरुङदेखि रञ्जित कर्णसम्मले नेविसंघको नेतृत्व सम्हालेका छन् । कर्णले अहिले पनि नेविसंघकै नेतृत्व गरिरहेका छन् । चर्चित युवा नेता गगन थापा पनि नेविसंघको महामन्त्री हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

यो ४३ वर्षे कालखण्डमा १० वटा अधिवेशन भए पनि नेतृत्व चयन भने १७ वटा भएका छन् । तर, माउ पार्टी नै आन्तरिक विवादमा फसेपछि उसका भ्रातृ संगठनहरु स्वतः विवादमा तानिन्छ नै । पार्टीभित्रको गुट, उपगुटले नेविसंघलगायत तरुण दल, महिला संघ पनि विवाद मुक्त हुन सकेका छैनन् ।

६ वर्ष बित्यो, अधिवेशन भएन

नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसवीच ०६४ साल भदौमा पार्टी एकीकरण भएयता नेविसंघको अधिवेशन भएको छैन । विधानतः नेविसंघको अधिवेशन हरेक दुई-दुई वर्षमा हुनुपर्छ तर, ६ वर्ष भइसक्दा पनि अधिवेशन नहुनुमा पार्टीभित्रको विवाद नै मूल कारण भएको आरोप नेविसंघका नेताहरुले लगाउने गरेका छन् ।

नेविसंघलगायत कांग्रेसका अन्य भ्रातृ संगठनको समेत विघटन प्रस्ताव पार्टी महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय समितिको वैठकमा पेश गरेपछि पार्टीका नेताहरुवीच मतभेद सिर्जना भएको हो । त्यसपछि अध्यक्ष प्रदीप पौडेलले राजीनामा पनि दिए । तर, उनले राजीनामा दिएको डेढ वर्ष भइसक्दा पनि अधिवेशन भएको छैन । पौडेलको राजीनामापछि पार्टीले रञ्जित कर्णलाई अध्यक्ष बनाएर ६ महिनाभित्र अधिवेशन गराउन निर्देशन दिए पनि अधिवेशन गराउन उनी सफल भएका छैनन् ।

विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले पार्टीभित्रको विवादका कारण विद्यार्थीको विवाद साम्य हुन नसकेको बताउनुभयो । उहाँले माउ पार्टी आन्तरिक विवादमै रुमलिँदा त्यसको प्रत्यक्ष, अप्रत्यक्ष असर भ्रातृ संगठनमा पर्ने गरेको स्वीकार गर्नुभयो । जोशीले नेविसंघको ११ औं अधिवेशन गराउन पार्टी प्रतिवद्ध भएको र स्ववियू निर्वाचनलगत्तै अधिवेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठ १३ मा हुने स्ववियू निर्वाचन अघि नै जिल्ला तथा क्याम्पसहरुमा नेविसंघको सम्मेलन हुन्छ । त्यसपछि नेविसंघको अधिवेशन हुन्छ । त्यसको तयारीमा विभाग लागिरहेको छ ।’

’विवादको मूख्य जड माउ पार्टी ‘

नेविसंघले ४३ वर्ष पार गरिसक्दा पनि स्थापनाकालदेखिको विवाद अहिलेसम्म यथावत हुनु वा विवादमै अल्झिनुको कारण माउ पार्टी नै भएको आरोप विद्यार्थी नेताहरुले लगाएका छन् । नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले माउ पार्टीभित्रको विवाद र नेताहरुको प्रत्यक्ष हस्तक्षेपका कारण विवाद सुल्झनुको साटो बल्झिने गरेको आरोप लगाउनुभयो । उहाँले अधिवेशन नभएको ६ वर्ष भइसक्दा पार्टी विवादकै कारण हुन नसकिरहेको बताउनुभयो ।

उहाँले अहिले अधिवेशन नहुनुको दोषी पार्टी नेतृत्व र अध्यक्ष रञ्जित कर्ण भएको आरोप लगाउनुभयो । आचार्यले अनलाइनखबरसँग भन्नुभयो,-’पार्टीले आफ्नो प्रत्यक्ष निगरानीमा नेविसंघलाई राख्ने भएकाले पनि कठिनाइ भएको हो । नेविसंघ पार्टीको भ्रातृ संगठन भए पनि यो आफैंमा स्वायत्त संस्था हो, यसको आफ्नै विधान छ । तर, पार्टीको ठाडो हस्तक्षेप हुँदा नेविसंघभित्रको विवाद मिल्न सकेको छैन ।’ उहाँले नेविसंघको विवाद साम्य पार्न स्ववियू निर्वाचनलगत्तै नेविसंघको ११ औँ एकता अविधेशन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै पूर्वउपाध्यक्ष नैनसिंह महरले पार्टी सभापति र नेताहरु व्यक्तिगत आकांक्षाका कारण नेविसंघभित्रको विवाद साम्य हुन नसकेको बताउनुभयो । उहाँले स्थापना कालदेखि नै पार्टी विवादमा रुमलिएकाले पनि नेविसंघ ४३ वर्ष विवादमै अल्झिँदै आएको बताउनुभयो । महरले अहिले आएर निर्वाचित कार्यसमितिलाई भंग गरी ६ महिनाभित्र अधिवेशन गर्ने जिम्मा रञ्जित कर्णलाई दिइए पनि उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णले ६ महिनाभित्र अधिवेशन गराउन नसक्ने भए किन जिम्मा लिए ? यसको जवाफ दिनु पर्छ ।’ महरले पनि असारभित्रै अधिबेशन गराउनुपर्ने बताउनुभयो । उहाँले क्याम्पसदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म पनि नेविसंघभित्रको विवाद कायमै रहेको बताउनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses