छोरालाई सधैं शौचालयमा थुन्न बाध्य अभिभावक

भिडियो हेर्न तल क्लिक गर्नुहोस

शिव ढुंगाना ,ओखलढुंगा, मंसिर १८– शौचालय केका लागि प्रयोग गर्ने ? यो प्रशनको जवाफमा एउटै उत्तर आउँछ, त्यो हो दिशा पिसाब गर्न । तर ओखलढुंगाको ज्यामिरे गाविस ९ गहतेका एक बालकलाई भने उनका अभिभावकले शौचालयमा थुनेर राखेका छन् ।



जन्मँदै शारीरिक र मानसिक अपांगता भएका ११ वर्षीय फडिन्द्र श्रेष्ठलाई उनका अभिभावकले ६ महिनादेखि शौचालयमा थुनेर राखेका हुन् । शौचालयमा थुनिएका बालक दिशा पिसाब एकै ठाउँमा गर्ने भएकाले सधैं फोहोरमा बस्न बाध्य छन् ।

सम्झना र तीर्थ श्रेष्ठका जेठा छोरा फडिन्द्रको स्थानीय ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएपनि थप उपचार गर्ने खर्च नहुँदा उनको परिवारले शौचालयमा थुनेर राख्ने गरेको हो । आर्थिक अवस्था कमजोर भएका कारण दैनिक मजदुरी गर्नुपर्ने भएकाले बालकलाई शौचालयमा थुनेर राख्ने गरिएको अभिभावक तीर्थ श्रेष्ठले बताउनुभयो । ‘विहान बेलुका छाक टार्न धौ धौ छ । म सधैं मजदुरीका लागि सदरमुकाम धाउने गर्छु त्यसैले छोरोलाई खुला ठाउँमा छाड्दा जताततै दिशा पिसाब गर्ने र लड्ने समस्याले शौचालयमा थुनेर राख्ने गरेका छौं’ उहाँले भन्नुभयो ।

फडिन्द्रको उपचारका लागि काठमाडौं लैजानुपर्ने भएकाले आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको बालककी आमा सम्झना श्रेष्ठले गुनासो गर्नुभयो । ‘छोराको अवस्था दिनदिनै बिग्रँदै गएको छ, डाक्टरले काठमाडौं लैजानू भनेका छन् तर उपचारमा सहयोग गरिदिने कोही पाइएको छैन ।’ उहाँले भन्नुभयो । दाजु भाई नै खोरमा

ओखलढुंगा ४ गोरुमारेभञ्ज्याङका २ दाजुभाइ १२ वर्षीय निर्मल र ८ वर्षीय निराज विश्वकर्मालाई पनि साढे दुईवर्षदेखि उनीहरुका अभिभावकले खोरमा राखेका छन् । बालकका अभिभावक शेरबहादुर र रहरी विश्वकर्माले पनि आर्थिक अभावकै कारण बालकहरुलाई खोरमा राखेका हुन् ।

खोरमा राखिएका बालकहरुलाई जिल्ला बाल कल्याण समितिको कार्यालय ओखलढुंगाले राहत स्वरुप आर्थिक सहयोग गरेपनि बालकहरुको अझै उद्दार गर्न सकेको छैन । शारीरिक र मानसिक रुपमै अपांगता रहेका विश्वकर्मा दाजुभाइलाई खोरमा राखिँदा स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ ।

जिल्लामा विभिन्न संघ संस्थाले मंगलबार २२ औँ अन्तर्राष्ट्रिय अपांग दिवस मनाइरहेको बेला यी बालकहरु थुनिँदा सरोकारवाला निकायहरुको आँखा भने पुग्न सकेको छैन । ओखलढुंगाका लागि अपांग दिवस नारामा मात्रै सीमित भएको पत्रकार कुलबहादुर तामाङले बताउनुभयो । ‘अपांगता भएका बालबालिकाको पहिचान भएपनि सरोकावाला निकायले खासै केही नसकेकोमा दुःख लागेको छ ।’ तामाङले भन्नुभयो ।

ओखलढुंगा जिल्लामा ५९ जना अपांगता भएका बालबालिका रहेको जिल्ला बाल कल्याण समितिको कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ ।/उज्यालो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses