भोट हाल्न फोटोसहितको कार्ड नचाहिने
काठमाडौं, २४ कात्तिक । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा मतदाता परिचयपत्र छापेर वितरणको तयारी गरेपनि मतदानका लागि त्यो अनिवार्य नरहेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र छपाइ भने सकिएको जनाएको छ ।
त्यस बारेमा जानकारी दिन आयोगको आज पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । मतदान अघि रंगीन फोटोसहितको मतदाता परिचयपत्र मतदाताको हातहातमा पुर्याउन आयोगले सुरक्षा प्रवन्ध मिलाएको बताएको छ । केहीगरि परिचयपत्र पाउन नसके वैकल्पिक व्यवस्था मार्फत भोट हाल्न लगाइनेछ ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य नगर्ने निर्णय भइसकेको जानकारी दिए । उनले आज त्यस बारेमा आयोगको भनाई सार्वजनिक गर्ने पनि बताए । उनकाअनुसार परिचयपत्र सबै मतदाताको हातमा नपुग्न सक्ला भन्ने आंकलन रहेकाले त्यसको वैकल्पिक व्यवस्थाबारे पनि आयोगले सोचिरहेको छ । नागरिकता, लाइसेन्स, वा मान्यताप्राप्त परिचयपत्रबाट समेत भोट हाल्न पाईनेबारे गृहकार्य भइरहेको छ ।
0 comments
Write Down Your Responses