खतरा र चुनौतीका घेराभित्र प्रचण्ड

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, २५ कात्तिक । आगामी ४ मंसिरमा हुन लागेको संविधानसभा निर्वाचनमा सबैभन्दा बढी आकर्षणको केन्द्र काठमाडौं–१० बन्न पुगेको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस र एमालेका स्थानीय उम्मेदवारले विगत निर्वाचनमा भन्दा बढी चुनौती थपेकाले काठमाडौं–१० यस पटक विशेष चर्चामा देखिएको हो ।



सधैंजसो परिवर्तनको पक्षमा र संस्थापनको विरुद्धमा उभिँदै आएको कीर्तिपुरको जनमत यस पटक कसले बटुल्ला भन्नेमा जनचासो बढेका कारण पनि काठमाडौं–१० सर्वाधिक चर्चामा छ । राज्यको संस्थापन पक्षबाट हेपिँदै र थिचिँदै आएको महसुस गरेका स्थानीय जनताले संस्थापनविरोधी परिवर्तनका पक्षमा आफूलाई उभ्याउँदै पनि आएका छन् । सधैंजसो कम्युनिस्टहरूप्रति आकर्षक जनमत रहेको यस क्षेत्रबाट गत संविधानसभा निर्वाचनमा ११ हजारभन्दा बढी मत अन्तरले एमाओवादी अध्यक्ष प्रचण्ड विजयी भएका थिए ।

तर, यस पटक नेपाली कांग्रेसका राजनकुमार केसी र नेकपा एमालेका सुरेन्द्र मानन्धरले प्रचण्डलाई सहजै जित निकाल्न नदिने अवस्था देखिएको राजधानी दैनिकमा समाचार छ । प्रचण्ड लाई दुवैले निकै चुनौती थपिरहेका छन् । विघटित संविधानसभा निर्वाचनमा दाहालले २३ हजार २ सय ७७ मत पाउँदा कांग्रेसका केसीले १२ हजार १ सय ५४ र एमालेका सानुकुमार श्रेष्ठले ८ हजार ५ सय ६८ मत ल्याएका थिए ।

कांग्रेसले यस पटक पनि प्रचण्डसँग प्रतिस्पर्धाका लागि पुरानै उम्मेदवार केसीलाई र एमालेले कीर्तिपुरका स्थानीयवासी नयाँ अनुहार मानन्धरलाई उभ्याएको छ । निर्वाचन आउन आठ दिन मात्रै बाँकी रहँदा २८ राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन क्षेत्रमा बढाएको गतिविधि हेर्दा मुख्य प्रतिस्पर्धा भने प्रमुख तीन दलबीच नै हुने अनुमान त्यस क्षेत्रका मतदाताले लगाएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड निर्वाचन क्षेत्रमा कार्यकर्ताकै भर परेर देश दौडाहामा निस्किरहेका बेला त्यसको फाइदा उठाउँदै कांग्रेस र एमालेका उम्मेदवारले भने मतदातासम्म आफ्नो उपस्थिति निकै बाक्लो बनाएका छन् । विगतमा शीर्ष नेताले संविधानसभालाई बन्धक बनाएर सभासद्लाई निर्णय गर्ने अधिकार नदिएको र दाहालकै कारण संविधान निर्माण नभई संविधानसभा विघटन हुन पुगेको प्रचार पनि काठमाडौं–१० मा अन्यत्रभन्दा बढी नै मात्रामा भएको देखिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses