बेवास्ता गरिए महँगो मूल्य चुकाउनुपर्ने वैद्यको चेतावनी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, चैत २४- नेकपा-माओवादीले जनयुद्धको एक हिस्साको रुपमा रहेको आफ्नो पार्टीलाई बेवास्ता गरिए महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको सहिदमञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष मोहन वैद्यले चार राजनीतिक दलले देशलाई असंवैधानिक ढङ्गले अगाडि बढाएर तानाशाही र अधिनायकवादी शैली देखाएको आरोप लगाए।



उनले भने, "चार दलको संवैधानिक हैसियत केही छैन, उनीहरुले भएको हैसियत पनि कर्मचारीको हातमा बुझाइसके। हैसियत नभएका दलहरुले बोलाएको वार्तामा हामी जान्नौं।" अध्यक्ष वैद्यले चैत १ गते चार पक्षबीच भएको सहमति र सम्झौताको खारेज गरी सर्वदलीय गोलमेचसभा वा बैठकका माध्यमबाट संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग राखे। उनले भने, "जनयुद्धको मुख्य शक्ति रहेको हाम्रो पार्टीलाई बेवास्ता गर्दै एमाओवादीका नेताहरुको सल्लाहमा कांग्रेस र एमाले चलेका छन् उनीहरुले पनि महङ्गो मूल्य चुकाउनुपर्नेछ।"

उनले राष्ट्रियताको संरक्षणका लागि देशभक्त र राष्ट्रवादीहरुको संयुक्त मोर्चा बनाएर अगाडि बढ्न आवश्यक रहेको भन्दै सबै पार्टीमा रहेका देशभक्तहरुलाई आफ्नो आन्दोलनमा सहभागी हुन आग्रह गरे। नागरिकताका विषयमा सचेत हुन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष वैधले वास्तविक नेपाली नागरिकले नागरिकताका नपाउने र विस्तारवादका मतियारहरुले नागरिकता पाउने अवस्थाले देश सिक्किमीकरणको दिशातर्फ अगाडि बढिरहेको टिप्पणी गरे।

उनले आफूहरुको सहमतिबिना बन्दुकको वलमा निर्वाचन गर्न खोजिए त्यसलाई जस्तोसुकै मूल्य चुकाएर असफल पार्ने चेतावनी दिए। कार्यक्रममा पार्टीका महासचिव रामबहादुर थापाले २०७० साल क्रान्तिको निर्णयक वर्ष हुने उद्‍घोष गर्दै सो क्रान्तिले सामन्तवाद र नोकरशाही दलाल वर्गको अन्त्य गरी स्वाधिनतासहितको नयाँ नेपाल निर्माण गर्ने जिकिर गरे।

उनले अहिले जातियताको कुरा गर्दै जनता लडाउने खेल भइरहेको भन्दै सङ्घीयताभन्दा राष्ट्रियता प्रमुख बनाएर अगाडि बढ्न आवश्यक रहेको औंल्याए। माओवादी नेताको सुरक्षामा राखिएको हतियार बुझाउन सरकारले दिएको समयसिमाप्रति सङ्केत गर्दै उनले भने, "ती नपड्कने थोत्रा हतियार लगे हुन्छ, हाम्रा लागि नयाँ हतियार कारखानामा बन्दै छन्।"

एमाओवादीले जनतालाई धोका दिएको बताउँदै उनले जनताले मुक्ति नपाउँदै एमाओवादीले क्रान्ति सफल भयो भनेर आत्मसमर्पण गरेको उल्लेख गरे। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले चार राजनितिक शक्तिले असंवैधानकि ढङ्गले सरकार गठन गरेकोले आफूहरुले ३३ दलको मोर्चा बनाएर अगाडि बढेकोमा अहिलेसम्म ५१ दल पुगेको दावी गरे।

कार्यक्रममा नेकपा-माओवादी पोलिटव्युरो सदस्य कुलप्रसाद केसी, दलित मुक्तिमोर्चाका संयोजक तिलक परियार, नेवा मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का उपाध्यक्ष अमृता थापालगायतले वर्तमान सरकारको विघटन गर्न थप सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका थिए। रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses