सरकारसँग वार्तामा नबस्ने वैद्यको घोषणा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१७, चैत, काठमाडौं । चार दल र सरकारले आन्दोलनरत नेकपा-माओवादीसँग वार्ता गर्ने छुट्टा छुट्टै निर्णय गरेका छन् । सरकारले तीन सदस्यीय वार्ता टोली नै गठन गरिसकेको छ । तर, खास वार्ता गर्नुपर्ने माओवादीका अध्यक्ष मोहन वैद्यचाँहि केही दिनयता निमोनियाका कारण बिरामी पर्नुभएको छ । केही दिनबाट ओछ्यानमा आराम गरिरहनुभएका वैद्यको स्वास्थ्यमा शनिबारदेखि सामान्य सुधार देखिएको हो । ‘उहाँलाई तीन/चार दिनदेखि निमोनियाले सताएको थियो, आजबाट अलि सामान्य सुधार भएको छ ।’ माओवादी प्रवक्ता पम्फा भुसालले  भन्नुभयो ।

निमोनियामा सुधार आएलगत्तै अध्यक्ष वैद्यले शनिबार भक्तपुरको मनहरा खोलामा अवस्थित सुकुम्बासी वस्तीमा आयोजना गरिएको सुकुम्बासी संगठनको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुभयो । त्यहाँ बोल्ने क्रममा उहाँले सरकारद्वारा वार्ताको आह्वान गरिए पनि आफूहरु वार्तामा नजाने प्रतिक्रिया दिनुभयो ।

वार्ताको शर्त : रेग्मी सरकार विघटन

सरकार र चारदलले छुट्टाछुट्टै वार्ताको आह्वान गरे पनि नेकपा माओवादीले यसबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । अध्यक्ष वैद्यले वार्तामा जनाने भने पनि एकसातापछि बस्ने केन्द्रीय समितिको बैठकले यसबारे टुंगो लगाउने बताइएको छ । सरकारी प्रस्तावबारे जिज्ञासा राख्दा माओावदी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भन्नुभयो-’हामीले पत्रिकाबाट मात्रै वार्ताका कुरो सुनेका हौं, औपचारिक प्रस्ताव आएको छैन ।’

माओवादी वार्ता र संवादको विरोधी नभए पनि वार्ताको पहिलो शर्त चैत्र १ को कदम सच्याउनुपर्ने रहेको भुसालले बताउनुभयो । ‘चैत्र १ को प्रतिगामी कदम सच्याउने, रेग्मी सरकार विघछन गर्ने र गोलमेचमार्फत् राष्ट्रिय सरकार बनाउने हो भने हामी वार्तामा बस्न तयार छौं ।’ उहाँले भन्नुभयो- ‘तर, हामीले मात्रै भनेर पनि हुन्न, हाम्रो गठबन्धनमा रहेका ३३ दलसँग छलफल हुनुपर्छ ।’

नेकपा-माओवादीको केन्द्रीय समिति बैठक चैत्र २८ गते डाकिएको र सो बैठकमा समसामयिक राजनीतिक विषयमा निर्णय लिइने प्रवक्ता भुसालको भनाइ छ । ‘पहिले रेग्मी सरकार विघटन गरेरमात्रै वार्तामा बस्छौं भनेको होइन, तर त्यसमा पहिल्यै सहमति भयो भने वार्ता गर्न सकिन्छ ।’ भुसालले भन्नुभयो-’ चैत्र १ को प्रक्रिया पनि नसच्याउने अनि वार्ता-वार्ता भन्दै हाम्रा कार्यकर्ताहरु पक्राउ गरिरहने हो भने वार्ता हुँदैन ।’ चैत्र १ मा चार दलले ११ बुँदे सम्झौता गरी त्यही आधारमा खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनाबी मन्त्रिपरिषद गठन गरेका हुन् । वैद्य नेतृत्वको नेकपा माओवादीले साना ३३ दलको गठबन्धन बनाएर सरकारविरुद्ध आन्दोलनको चेतावनी दिइरहेको छ । साथै मतदाता नामावली संकलनमा पनि वैद्यका कार्यकर्ताले देशव्यापी अवरोध पुर्‍याइरहेका छन् । वैद्यलाई चुनावी प्रक्रियामा ल्याउने मनसायका साथ कांग्रेस, एमाले र सरकारले समेत सम्वादको प्रक्रिया थाल्ने बताएका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses