संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर एमाओवादीले एक महिने जागरण अभियान सञ्चालन गर्ने
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, चैत १८- एकीकृत माओवादीले आगामी संविधानसभाको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर एक महिने विशेष जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले जनतासँग जोडिन र देशव्यापी रुपमा कार्यकर्ता प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको जानकारीअनुसार निर्वाचनलाई केन्द्र बिन्दुमा राखेर सञ्चालन गरिने सो अभियानमा पार्टी र जनताको सम्बन्ध सुधारलाई विशेष जोड दिइने छ।
सो अभियान राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख सहरहरु र ७५ वटै जिल्लामा अभियानात्मक रुपमा सञ्चालन गरिनेछ। सो अभियानमा पार्टीको शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, राज्य समिति सदस्य, जिल्ला समिति सदस्य, एरिया समिति सदस्य सहभागी हुने एमाओवादीले जानकारी दिएको छ।
भोलि बस्ने केन्द्रीय समितिको बैठकले सो सम्बन्धमा विशेष कार्ययोजनासमेत तयार पार्ने बताइएको छ। यसैगरी बैठकमा पार्टी केन्द्रीय समितिमा थप गर्ने केन्द्रीय सदस्यहरुको सम्बन्धमा योग्यता क्रम निर्धारण गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
सो योग्यताक्रममा कार्यक्षमता, जेष्ठतालाई मुख्य आधार बनाइएको छ। सोही विधिअनुसार गत माघमा सम्पन्न सातौ महाधिवेशनले तय गरेको १५१ जनाको केन्द्रीय समितिलाई आधार बनाएर आवश्यकताअनुसार केन्द्रीय सदस्यहरु थप गरिने प्रवक्ता सापकोटाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराउदै एमाओवादीको त्यागका कारण चुलिदै गएको राजनीतिक सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न सकिएको र निर्वाचनमा मुलुकलाई केन्द्रीत गर्न सकिएको भन्दै सम्पूर्ण पार्टी पङ्क्ति निर्वाचनमा केन्द्रीत भएर लाग्नुपर्नेमा जोड दिएका थिए।
यसैगरी मोहन वैद्यले नेतृत्व गर्नुभएको नेकपा-माओवादीमा आबद्ध भइ केही दिन पहिले मात्रै एमाओवादीमा फर्कनु भएका नेताहरु कृष्णध्वज खड्का, रेखा शर्मा, कुमार दाहाललाई केन्द्रीय समितिमा स्वागत गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
उनीहरु तीनै जनालाई केन्द्रीय सदस्यका रुपमा जिम्मेवारी दिइएको छ। क्रान्तिको नाममा वैद्य समूहले शत्रु हसाउने काम गरेको, जनयुद्ध ,जनआन्दोलनलगायतका विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने खेलमा लागेको भन्दै सो समूहमा लागेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु मूल घरमै फर्कन तयार रहेको खड्का, शर्मा र दाहालको भनाई रहेको प्रवक्ता सापकोटाले जानकारी दिए। रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses