फिलिपिन्समा शक्तिशाली टाइफुन, सयौं लाश सडकमा |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२३ कार्तिक,मनिला । फिलिपिन्सको पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली चक्रवात ‘सुपर टाइफुन हेयान’ले प्रभावित बनाएपछि त्यहाँका नगरमा एक सयभन्दा बढी व्यक्तिको शव सडकमा लडेको अवस्थामा फेला परेको जानकारी अधिकारीहरूले दिएका छन् भने सेना यस चक्रवातले तहसनहस बनाएका क्षेत्रमा पुग्ने प्रयासमा रहेको छ ।



हेयानले लेट तथा समरलाई शुक्रबार सबैभन्दा बढी प्रभावित बनाएको छ भने त्यहाँ प्रतिघण्टा ३१५ किलोमिटरको दरमा हुरी चलेको थियो । यसले यो चक्रवात विश्वको यस भूक्षेत्रमा देखा परेका चक्रवातमा सबैभन्दा बलियो रहेको देखाएको छ ।

चक्रवातले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने ऊर्जा तथा टेलिफोन सञ्जाल नष्ट भएका छन् । शनिबार त्यस क्षेत्रबाट प्राप्त हुनथालेका समाचार निकै दुःखदायी देखिएका छन् ।

लेटको केन्द्र टाक्लोबानमा विमानस्थलका व्यवस्थापकले १०० भन्दा बढि व्यक्तिको शव विमानस्थलको वरपर लडेको अवस्थामा देखिएको बताए भने अर्का १०० भन्दा बढी व्यक्ति घाइते भएको देखिएको छ ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका उपप्रमुख जोन एन्ड्रिुजले आफूले विमानस्थलको व्यवस्थापकको मूल्याङ्कनलाई पुष्टि गर्ने बताए । उनले टर्मिनल, टावर तथा सञ्चार उपकरण नष्ट भएको जानाकारी दिए ।

सेनाले उद्धार सामग्रीका साथमा टाक्लोबानमा सी–१३० विमान पठाउन थालेको छ । यस क्षेत्रको जनसङ्ख्या दुई लाख २० हजार रहेको बताइएको छ । उक्त चक्रवातका कारण निकै ठूला छालहरू आएको र सोही कारण यी व्यक्तिको मृत्यु भएको हुनसक्ने एन्ड्रुजले बताए । विमानस्थलको वरपर तटीय क्षेत्र रहेका छन् ।

टाक्लोबानबाट १० किलोमिटर दक्षिणमा रहेको तटीय नगर पालेमा एक चर्चमा करिब २० शव लाइनमा रहेको आफूले देखेको एक पत्रकारले जीएमए नेटवर्कलाई बताए । टाक्लोबान तथा पालोबाट आएका आरम्भिक समाचारले हेयानले अन्य समुदायमा पनि व्यापक रूपमा प्रभाव पारेको अनुमान गर्न थालिएको छ । हाल फिलिपिन्सको मध्यभाग दूरसञ्चार सम्पर्कबाट बिच्छेद रहेको छ ।

फिलिपिन रेडक्रसका ग्वेनडोलिन पाङले प्रभावित क्षेत्रबाट भवन भत्केको, घर धरासायी भएको आँधी आएको, पहिरो गएको आदि समाचार प्राप्त गर्न थालिएको बताए । उनले हालसम्म वास्तवमै के भयो र क्षति कत्तिको नराम्रो भयो भन्ने सम्बन्धमा बताउन नसकिने र आज यस चक्रवातको प्रभावको सही चित्र प्राप्त गर्न सकिने आशा गरिएको बताए । सरकार, सेना तथा रेड क्रसले चक्रवात प्रभावित समुदायमा सम्पर्क कायम गर्ने प्रयास भइरहेको बताएका छन् ।

प्रभावित क्षेत्रमा १५ हजार सैनिक तैनाथ गरिएको सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल रामोन जागालाले एएफपीलाई बताए । उनले उद्धार सामग्री तथा सञ्चार उपकरणका साथमा विमानहरू प्रभावित क्षेत्रमा गइरहेको उल्लेख गरे ।

उनले प्राथमिकता प्राप्त क्षेत्रमा हेलिकप्टर उद्धारका लागि पठाइएको बताए । स्थल सेनाका एकाइहरूले पैदल तथा ट्रकमा सैनिक उक्त क्षेत्रमा गइरहेको पनि उनले बताए । हेयानले फिलिपिन्सको मध्य तथा दक्षिणी भागलाई प्रभावित बनाएपछि हाल हाल यो चक्रवात दक्षिणी चीन जलक्षेत्र भएर भियतनामतर्फ गइरहेको बताइएको छ । सरकारले यस चक्रवातका कारण ३६ प्रान्तका ४० लाख भन्दा बढी जनता प्रभावित भएको बताएको छ ।

करिब ४० हजार जनसङ्ख्या भएको र माछा मार्ने पेसामा रहेको गुइयुआन नगरलाई पनि हेयानले प्रभावित बनाएको अनुमान गरिएको छ । रेडक्रसले त्यहाँ सम्पर्क स्थापना हुननसकेको जानकारी दिएको छ ।

पाङले कापिज प्रान्तमा आधारभूत संरचना नष्ट भएको र धेरै घरहरू भत्केको बताए । एबीएस–सीबीएनले पालावानमा तीन व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो । राष्ट्रपति बेनिग्नो अक्विनोले यस चक्रवातबाट बच्न व्यापक तयारीका लागि आग्रह गर्नुभएको थियो । चक्रवातले प्रभाव पार्नसक्ने क्षेत्रबाट करिब आठ लाख जनतालाई अन्यत्र लगिएको थियो । हजारौँ दुङ्गालाई सुरक्षित स्थलमा राखिएको थियो भने सयौँ उडान रद्द गरिएको थियो ।

फिलिपिन्सलाई प्रतिवर्ष औसतमा २० वटा घातक आँधी तथा चक्रवातले प्रभावित बनाउने गर्छ फिलिपिन्सलाई सन् २०१२ मा बोफा नाम गरेको भूमध्यसागरीय चक्रवातले प्रभावित बनाउँदा दक्षिणी द्वीप मिन्डानाओमा करिब दुई हजार व्यक्तिको मृत्युभएको थियो । एएफपी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses