यमपञ्चक सुरु, आज कागतिहार

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१५ कात्तिक, काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड दीपावली आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।



बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ । तिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन् ।

उक्त कार्यबाट आपसी स्नेहमा वृद्धि भई दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

झिलिमिली उज्यालो, फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घरआँगन निकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान, नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन् ।

आज कागतिहार

यमपञ्चकको पहिलो दिन आज कागतिहार समस्त नेपालीले आ-आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन् । आजका दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पक्षीका रूपमा लिने गरिन्छ । बिहानपख काग कराएमा त्यसलाई शुभ साइत मानिन्छ । आज साँझ यमदीप दान गरिन्छ ।

तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन र गोरुपूजा तथा नेवार सम्प्रदायमा म्हःपूजा (आत्मपूजा) गर्ने प्रचलन र अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ ।

तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवा जम्मा भई आ-आफ्ना छिमेकीका घरघरमा पुगी देउसी-भैलो खेल्ने प्रचलनका कारण तिहारलाई सांस्कृतिक पर्व पनि भनिन्छ । वैदिक कालमा बली राजाले आˆनो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses