'वैद्य माओवादी रित्तो हुन्छ, हाम्रै बहुमत आउँछ'
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
६ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ मा हुने निर्वाचनमा डिस्टर्ब नगर्ने वैद्य पक्षले बताएको खुलासा गर्नुभएको छ । उहाँले चुनावसम्म केही केन्द्रीय नेताहरुबाहेक वैद्य माओवादीका सबै कार्यकर्ता एमाओवादीमा पसिसक्ने दाबी गर्नुभएको छ ।
‘बाहिर भएका साथीहरुले पनि हामी चुनाव डिस्टर्ब गर्दैनौं भनिसक्नुभएको छ । डिस्टर्ब गर्ने स्थिति पनि छैन, चुनावमा कुनै त्यस्तो विघ्नबाधा हुँदैन । एकाध सानातिना घटना हुन सक्छन् त्यसले निर्वाचन नै अवरोध हुने भन्ने हुँदैन ।’ वैद्य माओवादीले चुनाव नबिथोल्ने दाबी गर्दै प्रचण्डले भन्नुभयो- ‘जो साथीहरु बाहिर हुनुहुन्छ, मलाई त के लाग्छ भने केही केन्द्रीय नेताहरु बाहेक सबै साथीहरु पुरानै घर फर्किसक्नुभएको छ । अब धेरै बाँकी हुनुहुन्न, उहाँहरु पनि आउनुहुन्छ ।’

एमाओवादीनिकट ‘कृष्ण सेन समाचार सेवा’का लागि सन्तोष पौडेललाई बुधबार दिएको अन्तरवार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा एमाओवादीको स्पष्ट बहुमत आउने र एकलौटी सरकार बन्ने दाबी गर्नुभयो । आफ्नो आलोचना गर्ने सञ्चार माध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले ‘जसको सीता खाई, उसैको गीता गाई’ जस्तो व्यवहार गरेको कडा आरोप लगाउनुभयो ।
‘नेपालभरकै जनता पहिचानसहितको संघीयताका पक्षमा, गणतन्त्रको पक्षमा एमाओवादीलाई पूर्ण बहुमत दिन आतुर छन् । त्यसैले हाम्रो पक्षमा पूर्ण बहुमत आउँछ, त्यसमा म विश्वस्त छु ।’ प्रचण्डको भनाइ छ,-’माओवादीको पक्षमा वहुमत आउछ, संविधान बन्छ, स्थिर सरकार बन्छ र देश विकासको मार्गमा अगाडि वढ्छ, यो हाम्रो दृढ विश्वास हो ।’
जसको सीता खाई, उसैको गीता गाई !
एमाओवादीले आफ्नो चुनावी घोषणापत्रमा अध्यक्ष प्रचण्डलाई राष्ट्रकै नेताका रुपमा प्रस्तुत गरेको छ । चुनावी घोषणपत्र सार्वजनिक गरेकै दिन सानेपामा एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफू र अध्यक्ष प्रचण्डले राष्ट्र नेताको हैसियतमा सोच्ने भन्दै कसैप्रति गालीगलौज र छुद्र टिप्पणी नगर्ने बताउनुभएको थियो । तर, कृष्ण सेन समाचार सेवालाई दिएको अन्तरवार्तामा प्रचण्डले मिडियामाथि छुद्र टिप्पणी गर्दै भन्नुभएको छ, ‘अहिले विभिन्न मिडियामा जसले हाम्रा विरुद्ध झुठ्ठा र अनर्गल प्रचार गरेका छन्, जसको सीता खाई उसको गीता गाई भने जस्तो त हो । उनीहरुका सीता खाएका मान्छेहरुले त्यही गर्नुपर्छ । त्यसकारण म त्यसमा व्यक्तिगतरुपले उत्तेजित हुनुपर्ने, हरेकपटक प्रतिक्रिया दिनुपर्ने आवश्यकता देख्दिँन ।’
मिडियाले ‘अनर्गल’ प्रचार गरे पनि जनता उत्साही रहेको उहाँको दाबी छ । ‘कतिपय सन्दर्भमा माथिल्लो वर्गका केही मानिस र मिडियाहरुले जनता निराश छन् भनेर प्रचार गर्ने र भ्रम छर्ने कोशिस पनि गरिरहेका छन् । तर, नेपाली जनता उत्साहित छन् ।’ -प्रचण्डको भनाइ छ । आफू र आफ्नो पार्टीविरुद्ध भैरहेको आलोचनाको जवाफमा प्रचण्डको जवाफ छ- ‘संकटकाल लगाएर टाउकाको मुल्य तोक्नेहरु र नेपाली जनतामा दमन गर्नेहरु नै आज परिवर्तनको विरोधमा छन् ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments
Write Down Your Responses