अभिभावक नहुँदा ३ बालकको बिचल्ली

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कपिलवस्तु, जेष्ठ ३० - मुसाले टोकेका आलुका केही दाना । दुई वटा प्याज । माटोको चुलो छेउ दुई किलो चामल । सानो बट्टामा १० ग्राम खाने तेल । अनि नुनको पोको । दुई वटा कुच्चिएका थाल, प्लास्टिकका बाल्टी र सानो सिलबरका डेक्ची र कसौडी छन् । थाल नपुग्दा आलोपालो खान्छन् ।



यो विपन्न घर अभिभावक नभएका कोपबा ९, भगलापुरका ३ बालबालिकाको हो । बाबु-आमा नहुँदा साना बालबालिकाको बिचल्ली भएको छ । ४ वर्षअघि बाबु खिमानन्द पोखरेलको मृत्यु भयो । ६ महिनाअघि आमा विष्णुले ३ छोराछोरी छाडेर दोस्रो बिहे गरेपछि बालबालिका अनाथ बनेका हुन् । जेठा गणेश १२ वर्षका भए । दुर्गी ६ र अमृता ६ वर्षकी छन् । यी नाबालक छाडेर आमाले दोस्रो बिहे गरेपछि असहाय बनेका छन् ।

उनीहरूको अनुहार मलिनो छ । कहिल्यै हाँस्दैनन् । बाणगंगा खोला छेउ ८ नं. ऐलानी जग्गामा खरले छाएको झुप्रोमा बस्छन् । कहिले भात खान्छन् । कहिले भोकै सुत्न बाध्य छन् । छिमेकीले चामल, तरकारी दिए पकाएर खान्छन् । नभए भोकै बस्ने गरेको छिमेकी रामबहादुर घिमिरेले बताए । 'सुरुमा रात परेपछि डरले रुने कराउने गर्थे,' उनले भने, 'गाउँले गएर उनीहरूलाई ल्याएर सुताउने गथ्र्यौं ।' अहिले पनि घरमा सुत्दैनन् । आलोपालो गाउँलेले सुताउने गरेको छिमेकी लीलादेवी चौधरीले बताइन् । बालबालिका छिमेकीकहाँ बाँडिएर सुत्छन् । 'ओढ्ने, ओछ्याउने पनि छैन, जसले जे दिए त्यही समातेर भुइँमा सुत्छन्,' चौधरीले भनिन् ।

'चामल, तरकारी हुँदा दाइले पकाएको खान्छौं, नहुँदा भोकै बस्छौं,' दुर्गीले भनिन् । एकपटक माटोको चुल्हो पनि भत्क्यो । उनीहरू भोकै बसे । आफूले गएर चुल्हो मर्मत गरिदिएको स्थानीय बालकुमारी तामाङले बताइन् । 'केटाकेटी देख्यो माया लाग्छ, कहिलेकाहीँ उनीहरूले खाए नखाएको हेर्न जान्छु,' बालकुमारीले भनिन् ।

साना २ लाई आमा कहाँ गइन् पत्तो छैन । जेठा गणेशले भने, 'आमाले अन्तै बुबा खोजेर गइन् ।' आमा खोइ भनेर बहिनीले सोध्दा जवाफ दिन नसकेर आफू पनि रोएर बस्ने गरेको उनले बताए । एकपटक चामल नहुँदा ३ दिनसम्म भोकै बसेको गणेशले बताए । उनीहरू ३ जना पढ्न जान्थे ।

अहिले विद्यालय आउन छाडेको ज्ञानोदय निमाविका सहायक प्रअ नारायण पोखरेलले बताए । 'राम्ररी भात खान पाए पढ्न आउँछन्, नत्र कसरी आउने ?,' उनले भने । गणेश, दुर्गी र अमृता क्रमशः कक्षा ५, ३ र १ मा पढ्थे । 'पुस्तक पाए पनि लेख्ने कापी र कलम नहुँदा विद्यालय जाँदैनौं,' गणेशले भने । अभिभावक नहुँदा बालबालिकालाई हेरचाह गर्न समस्या भइरहेको छ । औंलामा लामालामा नङ छन् । कपडा पनि मैलिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses