क्रिकेट नतिजाको विषयमा विवाद हुँदा १४ घाइते, ७ जनाको अवस्था गम्भीर
मिथिलेश यादव, लहान, चैत १५ - लहानउत्तरको शोभापुर गाउँमा मुस्लिम समुदायका दुई समूहबीच केहिबेर अगाडि भएको झडपमा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।टाउकोमा गम्भीर चोट लागेका उनीहरुलाई थप उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ। ३५ वर्षीय मोहम्मद कासिम, ३० वर्षीय सुभान राईन, दिलमोहम्मद लगायत सात जनालाई थप उपचारका लागि न्युरो अस्पताल लगिएको छ भने बाँकीको लहान अस्पताल र लहान नर्सिंग होममा उपचार भइरहेको छ।लहान अस्पतालका चिकित्सक डाक्टर महेश कुमार साहका अनुसार रेफर गरिएको अधिकांश घाइतेको टाउकोमा भाला र तरवार प्रहार गरिएको छ।उनीहरुमा भोमिट गर्ने, टाउँको दुख्ने लगायतका समस्था देखिएकोले थप उपचारका लागि सुविधासपन्न अस्पताल रेफर गरिएको हो।गाउँमै दुई दिन पहिला वडा नम्वर ६ र ७ का युवाहरुले खेलेको क्रिकेटमा वडा नम्वर ७ का युवाले जितेपछि हारेको टिमले दिनुपर्ने १ सय रुपैयाँ नदिएपछि कुटाकुट भएको थियो।मोहम्मद महफुज मियाँका अनुसार क्रिकेट प्रतियोगितामा जितेको पैसा नदिई उल्टै कुटेपछि विवाद बढ्यो। एकान्तमा फेला पारे कुटिहाल्ने क्रम दुई दिन देखि दुवै वडाका युवाहबीच चल्दै आएको थियो।बिहीबार बिहान मोहम्मद आश्विन मियाँ(भोजे) का ज्वाई उलफत मियाँ गाउँकै चौकमा रहेको चिया पसलमा गएको बेला अर्को पक्षका युवाहरुले कुटेको घटनापछि भोजेपक्ष र मजेबुल पक्षबट्ट्ट भिडन्तको अवस्था आएको स्थानीयले बताए। उलफलतलाई पिटेको घटनाले दुवैपक्षबीच भिडन्त सुरु भएपछि प्रहरीलाई खबर गरिएको थियो।घटनास्थल पुगेका सई राजकुमार बस्नेतले भने, 'मोटर जाने बाटो राम्रो नभएकाले पुग्न समय लाग्यो तर, प्रहरी पुग्न अझै अबेर हुँदा धेरै मानविय क्षति हुने थियो। प्रहरी पुग्दा शोभापुर युद्धस्थल जस्तै देखियो।' भिडन्तमा भाला, तरवार, लाठी, फर्सा, खुकुरी, रड प्रयोग भएको मोहम्मद साबिरले सुनाए। भिडन्तपछि शोभापुर गाउँमा भागाभाग र त्रासको अवस्था छ।
0 comments
Write Down Your Responses